क्रिकेट कप्तान सन्दीपविरुद्ध नाबालिका बलात्कारको उजुरी

राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई नाबालिका जबर्जस्ती करणीको आरोप लागेको छ । काठमाडौंको एक कलेजमा अध्ययनरत किशोरीले मंगलबार साँझ काठमाडौं प्रहरीमा जाहेरी दिएकी हुन् । उनको उमेर १८ वर्षभन्दा कम रहेको प्रहरी स्रोत बताउँछ ।
जाहेरीमाथि अध्ययन भइरहेको प्रहरीले जनाएको छ । प्रहरी अधिकारीहरू यसबारे औपचारिक रूपमा भने केही बोल्न चाहँदैनन् ।  प्रहरीका अनुसार गत ५ भदौमा काठमाडौंको एक होटेलमा सँगै बसेको र त्यहाँ आफूमाथि बलात्कार भएको पीडित किशोरीको दाबी छ ।
त्यस दिन दिउँसो आफू सन्दीपसँगै नगरकोट घुम्न गएको, तर त्यहाँ उनले केही नगरेको जाहेरीमा उल्लेख छ । घटनाको भोलिपल्ट ६ भदौमा सन्दीप केन्या उडेका थिए । एक साथीमार्फत सन्दीपसँग चिनजान भएको ती किशोरीले प्रहरीलाई बताएकी छिन् । 
प्रहरीले किशोरीको स्वास्थ्य जाँच गरी घटना भएको भनिएको होटेलको प्रमाण संकलनको प्रक्रिया अघि बढाएको छ । क्रिकेटर सन्दीप हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिजमा छन् ।