मानव विकास सूचकमा नेपाल खस्कियो

– बिजय दमासे ।  
काठमाडौं । मानव विकास सूचकांकमा नेपाल लगातार खस्किएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वव्यापी मानव विकास सूचकांकमा नेपालको स्तर सन् २०२० र २०२१ मा लगातार घटेको हो ।
‘अनिश्चित समय, अस्थिर जीवन : परिवर्तित विश्वमा हाम्रो भविष्य’ शीर्षकको मानव विकास प्रतिवेदन २०२१/२२ अनुसार नेपाल सन् २०२१ मा शून्य दशमलव ६०२ अंकका साथ उक्त सूचीको १४३ नम्बरमा छ । यो अंक सन् २०२० को शून्य दशमलव ६०४ भन्दा घटी हो । मध्यम देशहरूको सूचीमा रहेको नेपालको अंक सन् २०२० मा पनि शून्य दशमलव ००७ ले घटेर शून्य दशमलव ६०४ कायम भएको थियो । सन् २०१९ मा नेपाल उक्त सूचीमा १४२ औं स्थानमा थियो । कोरोना महामारी तथा यसले सृजना गरेका विभिन्न आर्थिक सामाजिक समस्याले गर्दा सूचक ओरालो लागेको यूएनडीपीले उल्लेख गरेको छ । नेपालको मात्रै नभई ८० प्रतिशत मुलुकको मानव विकास सूचक अंक घटेको छ ।
तर, गएको ३ दशकमा भने नेपालले मानव विकास सूचकमा उल्लेखनीय प्रगति गरेको यूएनडीपीको प्रतिवेदनमा उल्लेख छ । सन् १९९० देखि २०२१ को बीचमा मानव विकास अंक उल्लेख्य बढेको छ । सन् १९९० मा ० दशमलव ३९९ रहेको अंक सन् २०२१ मा ० दशमलव ६०२ मा पुग्नुलाई प्रतिवेदनले सकारात्मक भनेको छ ।
यसबीचमा औसत आयु जन्मका आधारमा १३ दशमलव ६ वर्षले बढेको छ भने खुद राष्ट्रिय प्रतिव्यक्ति आम्दानी १४६ प्रतिशतले बढेको छ । प्रतिवेदनअनुसार नेपालको प्रतिव्यक्ति औसत आयु ६८ दशमलव ४ वर्ष पुगेको छ । प्रतिवेदन अनुसार स्विजरल्यान्ड शून्य दशमलव ९६२ अंकसहित मानव विकास सूचकांकमा पहिलो नम्बरमा छ । नर्वे दोस्रो र आइसल्यान्ड तेस्रो स्थानमा छन् । हङकङ चौथो, अस्ट्रेलिया पाँचौं, डेनमार्क छैटौं र स्विडेन सातौं नम्बरमा छ । आयरल्यान्ड आठौं, जर्मनी नवौं र नेदरल्यान्ड दशौं नम्बरमा छन् ।
संयुक्त राष्ट्रसंघले १९१ मुलुकको अवस्था समेटेर प्रतिवेदन सार्वजनिक गरेको हो । सूचीमा दक्षिणी सुडान सबैभन्दा पछाडि छ । दक्षिण एशियाली मुलुकमध्ये श्रीलंका ७३औं स्थानमा, माल्दिभ्स ९०औं स्थानमा र भुटान १२७औं स्थानमा छ । त्यस्तै बंगलादेश १२९, भारत १३२, पाकिस्तान १६२ र अफगानिस्तान १८०औं स्थानमा छन् । यूएनडीपीले विभिन्न १३ ओटा आयाम समेटेर मानव विकास सूचकांक तयार गर्छ । लैंगिक समानता, स्वास्थ्य, मानव सुरक्षा, गतिशीलता र सञ्चार, अर्थ–सामाजिक दिगोपन, व्यापार तथा वित्तीय प्रवाह, रोजगारी, आय, असमानता, मानव विकास, जनसंख्या, शिक्षा र वातावरणीय दिगोपनलाई विभिन्न नम्बर दिएर सूचकमा समावेश गरिन्छ ।