काठमाडौं । बागमती प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषा बनाउनका लागि प्रक्रिया सुरू गरेको छ ।
बागमती प्रदेशले नेपाली भाषासँगै प्रदेशमा बढीभन्दा बढी बोलिने भाषाको रूपमा ती दुईवटा भाषालाई सरकारी कामकाजी भाषाको रूपमा मान्यता दिन लागिएको हो ।
भाषा आयोगले संविधानबमोजिम ती दुईवटा भाषालाई बागमती प्रदेशमा सरकारी कामकाजी भाषाका रूपमा प्रयोग गर्न सकिने भनी एक वर्षअघि सिफारिस गरेको थियो ।
सोही सिफारिसलाई आधार बनाई प्रदेशको मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सो कार्यका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताए । सोका लागि तीन सदस्यीय एक कार्यदल गठन गरिएको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।