सत्ता गठबन्धनले समानुपातिक सांसदको लिस्ट तयार पारेपछि मात्रै सिट बाँडफाँट टुंगो लगाउने भएको छ। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले समानुपातिक सांसदको लिस्ट तयार पारेपछि मात्रै सिटबाँट टुंगो लगाउने निर्णय गरेको हो।
आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको लागि आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्द सूची बुझाउने समय असोज २ गतेका लागि तोकेको छ।
सभन्दा अघि नै सत्ता गठबन्धनमा आवद्ध सबै दलले समानुपातिक तर्फका उम्मेदवार छान्नु पर्ने भएकाले आगामी असोज ४ गते बस्ने गरी मंगलबारको बैठक सकिएको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरन्जिवी अधिकारीले जानकारी दिए।
मंगलबार दिउँसो २ घन्टा छलफल भएको थियो। सत्ता गठबन्धनसहित निर्वाचनमा जाने निर्णय भएपनि सिट बाँडफाँट असहज बनेको छ।
सिट बाँडफाँटको लागि बनेको कार्यदलले एक महिना गृहकार्य गर्दा पनि नसकेपछि सत्ता गठबन्धनले नै यसलाई अन्तिम रुप दिने तयारी गरेको छ। तर सबै दलले हैसियतभन्दा धेरै सिट दाबी गरेका छन्।