-अनिल नेपाली ,अर्घाखाँची
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम आईतबार सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोईरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा देशभर बढ्दो आत्महत्या दरलाई न्युनिकरण गर्न आम नागरिकलाई सुसूचित गराउने उद्देश्यले कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले अर्घाखाँचीमा आत्महत्या न्युनिकरणका लागी आफनो क्षेत्रबाट सक्दो पहल गर्ने बताए । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ, मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराई, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष रामबहादुर चौहान, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, बार अर्घाखाँचीका अध्यक्ष विजय खत्री लगाएतले मन्तव्य राखेका थिए ।
नेपाल प्रहरी कार्ययोजना २०७९ अन्तर्गत आत्महत्या न्युनिकरण कार्यक्रम अनुरुप देशभर बढ्दो आत्महत्या दरलाई न्युनिकरण गर्न आम नागरिकलाई सुसूचित गराउने उद्देश्यले यस जिल्लामा रहेका जनप्रतिनीधिहरु, राजनैतिक दलका प्रतिनिधिहरु,सम्पुर्ण सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधी, बैक तथा बित्तिय संस्थाका प्रमुखहरु ,शिक्षक ,विद्यार्थीहरु, एवंम पत्रकारहरुको उपस्थिती रहेको कार्यक्रम प्रहरी निरीक्षक अर्जुन पौडेलको सञ्चालन तथा सहजिकरणमा सम्पन्न भएको हो