कमेरो र रातो माटाेले लिपेको मेरो घर र बाल्यकालमा बिताएका पलहरु

-सुभाष ज्ञवाली 
नेपाली घरदैलोमा विजया दशमी भित्रिसकेको छ । मानिसहरु किनमेल र विभिन्न ठाउँबाट घरफर्कने क्रम तिब्र भैसकेको छ । तर पहिले जस्तो अहिले चाडपर्वमा त्यति रमाइलो भएको देखिदैन ।
 प्राय युवायुवती वैदेशिक रोजगारीमा भएको र अर्कातर्फ धेरै जसो मानिसहरु पहाडबाट तराइ बसाइसराइ गरेकाले पनि गाँउमा खासै रौनक देखिदैन। थोरै धेरै भएपनि आधुनिकताका नाममा भडकिलो हुने गर्दछ ,आज भोलिको दशै । हामी सानो  छदा गाँउ घरको दशै धेरै नै मौलिक खालको हुने गर्दथ्यो ।
    श्राद्ध सकिए पछि तछाड मछाड गरि मकैको बुटि जोतेर निकालिन्थ्यो। सकभर दशैभन्दा अगाडि हिउदे बालीको लागि मेलो तयार गरिन्थ्यो, दसैको सेरोफेरोमा गाउमा रहेका गोरेटा बाटाहरु सफा गरिन्थ्यो । घटस्थापनाको दिनदेखि प्रत्येक दुर्गा मन्दिरहरुमा बाजागाजा     बजाउने र देबीहरुको पूजा सुरु हुन्थ्यो । 
नयाँ नँया कपडा लगाउने मौका पनि प्राय:दशै‌मा नै पाइन्थ्यो । लाहुरबाट घर आउनेहरुको भिड अत्यधिक नै हुने गर्दथ्यो । लाहुरबाट आउनेहरु प्रायले वाकमेन वा टेप्रिकोट घन्काउदै आउथे । लाहुरेहरु चिटिक्क परेर नयाँ नयाँ कपडा लगाएर सेन्ट  घसेर आउथे । उनीहरुको रमाइलो  छुट्टै हुन्थ्यो । हामी भने बाबियोको पि‌ङ्ग बाटेर पिङ्ग खेल्ने गर्दथ्यौ‌ ।
 पिङ्ग खेल्दा कहिले काँही त पिङ्ग चुडिएर बेजोडले लडिन्थ्यो । धन्य हाम्रा हातखुट्टा बलिया थिए र एकाध चोटपटक बाहेक खासै कसैलाई केही हुने थिएन।
दशै भित्रिन थाले पछि हरेल आफ्ना घरहरुमा कमेरो ‌‍‍‍माटो माथी, तल रातो माटो ले लिपपोत गरी घरलाइ चिटिक्क पारिन्थ्यो ।  खरको छानो थियो, ढुङ्गाको छानो हुने घरको छानोमा कमेरोले ठुलो अक्षरमा बिजया दशमी  लेखेका हुन्थे यसै गरि सप्तमी सम्म घर बाहिरको काम सकिन्थ्यो र सप्तमिको दिन देखि पुजा आजा सुरु हुन्थ्यो यसरी नै अस्टमी, नबमी र दशैको दिन सम्म विभिन्न देविदेवताको पुजा गरिन्थ्यो ।
 हिन्दु संस्कार अनुसार बलिदिने प्रचलन रहेकाले राँगा, पाठाको बलिदिने र परेवा फुलमाला चढाउने गरिन्थ्यो ।  दसैको दिनमा टिकाको साइतमा घरको जेष्ठ अभिभावकको हात बाट टीका थापे पछि क्रमस जेष्ट अभिभावक को हातबाट टीका ग्रहण गरी अन्य जेष्ठ अभिभावक नातागोता मावली परिवारकोमा पुगी टीका थापी आशीर्वाद लिइन्थ्यो दिनभर यसै गरि बिताइन्थ्यो बेलुकाको खाना खाएपछि आफ्ना दमाली साथिभाइहरु जम्मा भएर सराय नाच हेर्न हिडिन्थ्यो  ।
अब दशैको साँझबाट सुरुहुन्थ्यो हाम्रो दशै त्यसदिनको बेलुका निस्किए पछि घरमा जेष्ठ अभिभावक सँग पुर्णिमाको अर्को दिन मात्रै अनुहार देखाइन्थ्यो दसैको साँझ निस्किएका हामी एकादशी देखि सुरु हुने सराय मेला नछुटाएर पुर्णिामा को रात सम्म घुमिन्थ्यो र दसै लाई बिदा गरिन्थ्यो।
अहिले बाल्यकाल सम्झिदा सपना जस्तो लाग्दोरहेछ ।