अर्घाखाँचीमा म्यादी प्रहरीको लिखित परीक्षा सम्पन्न

– सागर महत 
अर्घाखाँची । अर्घाखाँचीमा म्यादी प्रहरीको लिखित परीक्षा सम्पन्न भएको छ ।
आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि कुल १५ सय १९ जनाले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये सरकारले स्थानीय निर्वाचनमा खटिएका पूर्व म्यादी प्रहरीलाई प्राथमिकता दिने भने बमोजिम शारीरिक कटाएका करिब ३ सय ८० जना अन्तर्वार्ताको लागि छनोट भएका छन् ।
अन्य शारीरिक कटाएका ८ सय ७५ जनाले भने परीक्षा दिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । जिल्लामा म्यादी प्रहरीको माग १ हजार १ रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाल लगायतले परीक्षाको अनुगमन गरेका थिए । लिखित परीक्षाको लागि ३० मिनेटको समय छुट्टाइएको थियो ।
टुँडिखेलमैदानमा लामबद्ध भएर परीक्षा दिइरहेका परीक्षार्थीहरुलाई हेर्न सर्वसाधरणको समेत घुइँचो लागेको थियो ।

अन्य समाचारहरु