काठमाडौं । काठमाडौं उपत्यकाबाट यस वर्ष गएको वर्षभन्दा झण्डै दोब्बर यात्रु बाहिरिएका छन् । यो महिनाको सुरूदेखि फूलपातीसम्म झण्डै १७ लाख उपत्यकाबाट दशैं मनाउन आ–आफ्नो घर गएका हुन् ।
विगत दुई वर्ष कोभिडका कारण दशैं मनाउन काठमाडौं उपत्यकाबाहिर जानेको संख्या कम हुने गरेकामा यो वर्ष उल्लेख्यरूपमा बढेको हो ।
उपत्यकाबाट बाहिरका जिल्लमा जाने सबैभन्दा बढी नागरिकले सार्वजनिक गाडी नै प्रयोग गरिरहेका राष्ट्रिय यातायात व्यवसायी महासंघ नेपालका अध्यक्ष विजय स्वाँरले बताउनुभयो ।
अहिलेसम्म १७ लाखको हाराहारीमा नागरिकले उपत्यका छाडेका छन् भने विजयादशमीको दिनसम्ममा अझै दुई लाखले उपत्यका छाड्ने अनुमान गरिएको उहाँको भनाइ छ ।
विगतका वर्षजस्तो यो वर्ष पनि तोकिएको भन्दा बढी भाडा लिने, एउटै सिटमा दुई जनाको टिकट काट्ने, यात्रुलाई टिकट काट्दाको भन्दा फरक सिटमा राख्ने लगायतका समस्या यात्रुले भोगिरहेका छन् ।
कतिपय यात्रुले पहिले नै टिकट नकाटेर बीच बाटोबाटै गाडी चढ्ने बढी भाडा लिएको हुनसक्ने अध्यक्ष स्वाँरले बताउनुभयो ।
काठमाडौंबाट मात्र होइन उपत्यकाबाहिरबाट क्षेत्रिय सहरहरूबाट र जिल्ला सदरमुकामहरूबाट पनि धेरै यात्रु आ-आफ्नो घर जाने गरेका छन् । कतिपय यात्रु काठमाडौंबाहिरबाट उपत्यका भित्रिने भए पनि त्यो संख्या कम रहेको महासंघले जनाएको छ ।
सबै क्षेत्रले यानत्रुबाहक गाडीलाई पहिलो प्राथमिकतामा दिएर त्यसपछि मात्रै नीजि र मालबहाक गाडीलाई दिनुपर्नै महासंघले सरकारसमक्ष माग गर्दै आएको थियो । शनिबारदेखि नै अति आवश्यक पर्ने सामान ल्याउनेबाहेक १८ र २० चक्के गाडी सञ्चालनमा रोक लगाइएको छ । विभागले यहि असोज १५ गतेदेखि २२ गतेसम्म नारायणगढबाट काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ ।