प्रतिनिधिसभा निर्वाचन २०७९: अर्घाखाँचीमा टोप बहादुर रायमाझी र पुष्पा भुसाल बिच चुनावी भिडन्त हुने ।

– लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुष्पा भुसाल र नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी बिच चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ । कांग्रेसले नेतृ भुसाललाई टिकट दिएसंगै टोपबहादुर रायमाझी संग भिड्ने पक्का भएको हो ।
अर्घाखाँचीमा एमालेबाट एकल सिफारिशमा परेका रायमाझीले शुक्रवार टिकट पक्का गरेका थिएभने भुसालको शनिवार टिकट फाईनल भएको हो । भोली (आईतवार) मनोनयनको अन्तिम दिन हो । दुवै दलले भोली मनोनयन दर्ता गर्ने जनाएका छन् ।
नेपाली कांग्रेसका नेतृ भुसाल पार्टी भित्र प्रभावशाली नेताका रुपमा परिचित छिन् । एक संघिय निर्वाचन क्षेत्र भएपछी भुसाल पहिलो पटक निर्वाचन लड्दै छिन् । उनी यसअँघी २०५६, २०६४ र २०७० सालमा अर्घाखाँची क्षेत्र नम्बर–२ बाट निर्वाचन लडेकी थिईन् । २०५६ सालमा सानै उमेरमा उनी यही क्षेत्रबाट निर्वाचनमा सहभागी थिईन् । २०६४ सालको निर्वाचन उनले जितेकी थिईन् भने २०७० सालमा उनी पराजित भएकी थिईन् ।
नेकपा एमालेका केन्द्रिय सचिव टोपबहादुर रायमाझी २०६४ र २०७० मा अर्घाखाँची क्षेत्र नम्बर–१ बाट निर्वाचन लडेर जितेका थिए भने एक संघिय निर्वाचन क्षेत्र भएपछी २०७४ को निर्वाचनमा पनि जित हात पारेका थिए । तिन ओटै निर्वाचन नेकपा माओवादीबाट लडेका रायमाझी यसपटक भने एमालेबाट लड्ने छन् ।

अन्य समाचारहरु