उम्मेदवारहरूको नामावली आज प्रकाशन गरिंदै

– रासस 
काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कार्यतालिका अनुसार आज मंगलबार) उम्मेदवारको नामावली प्रकाशन गरिँदै छ । आज साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।
ad
बुधबार १० देखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ । बुधबार नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यातालिका छ  ।
उम्मेदवारका विरुद्ध आयोगले सोमबार १० देखि ३ बजेसम्म उजुरी दिन सकिने समय छुट्याएको थियो । मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने आयोगले व्यवस्था मिलाएको थियो ।
आयोगमा परेको उजुरीमाथि सोमबार ३ बजेदेखि मंगलबार ५ बजेसम्म उजुरीको जाँचबुझ हुने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।
ad
उहाँका अनुसार आयोगमा कूल ५,९६८ उमेदवारी दर्ता भएको छ । प्रतिनिधिसभाको १६५ वटा निर्वाचन क्षेत्रका लागि २,५१३ जनाको उम्मेदवारी दर्ता भएको सहायक प्रवक्ता अर्यालले जानकारी दिनुभयो । प्रदेशसभातर्फ ३,४५५ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । उम्मेदवारी दिनेको विवरण अद्यावधिक भइरहेको आयोगले जनाएको छ  ।
ad
आयोगमा समानुपातिक प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार प्रदेशसभामा भने सम्बन्धित प्रदेशमा प्रत्यक्षतर्फ निर्वाचित हुने प्रदेशसभा सदस्यलाई ६० प्रतिशत मानेर ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीबाट पूर्ति गर्ने संवैधानिक व्यवस्था छ । जसअन्तर्गत प्रदेश नं १ मा ३७ जना, मधेस प्रदेशमा ४३, बागमती प्रदेशमा ४४, गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा ३५, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा २१ प्रदेशसभा सदस्य समानुपातिक प्रणालीबाट निर्वाचित हुनेछन् ।