उम्मेदवारले आफू राम्रो र अरु नराम्रो भनेर प्रचार गर्न पाइँदैनः आयुक्त भण्डारी

काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न उम्मेदवारहरुलाई आग्रह गरेको छ ।
राजनीतिक दलका उम्मेदवारहरु तथा स्वतन्त्र उम्मेदवारहरुले चुनाव प्रचारप्रसार गरेको उजुरी परेसँगैै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराएको हो । आइतबार संचारकर्मीसँग कुराकानी गर्दै निर्वाचन आचारसंहिता कन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहनुभएका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताअनुसार निर्वाचन हुने दिन भन्दा १७ दिन अगाडीदेखि (कार्तिक १८ गतेदेखि) मात्रै प्रचारप्रसार गर्न पाइने बताउनुभयो ।
आयुक्त भण्डारीले उम्मेदवारहरुले घरदैलो कार्यक्रम गर्न पाउने र त्यसमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रावधानलाई पनि पालना गर्न सचेत गराउनुभयो । घरदैलोमा बाजागाजा र तामझाम गरिरहेको उजुरी आयोगमा परेको भन्दै उहाँले त्यस्ता कार्य नगर्न आग्रह गर्नुभयो । घरदैलोमा तामझाम र बाजागाजा गर्नुपनि आचारसंहिता विपरित हुने उहाँको भनाइ छ । आचारसंहिताको परिधिभित्र बसेर कानूनी सजाय नपाउनेगरी घरदैलो गर्न उहाँले उम्मेदवारहरुलाई आग्रह गर्नुभयो।
उहाँले उम्मेदवारहरुले आफू राम्रो र अरु नराम्रो भनि प्रचारप्रसार गर्न नपाइने उल्लेख गर्नुभयो । उम्मेदवारहरुलाई आफ्नो घोषणापत्र अनुरुप र आफूले गर्ने कामहरुको मात्रै प्रचारप्रसार गर्न उहाँको सुझाव छ । अरु दल र स्वतन्त्र उम्मेदवारहरु नराम्रो भनि प्रचार गर्न नपाइने उहाँले उल्लेख गर्नुभयो । आयुक्त भण्डारीले प्रचारप्रसारको क्रममा आचारसंहिता उल्लंघन भएमा आयोगले उम्मेदवारको मनोनयनपत्र खारेजसम्म गर्नसक्ने बताउनुभयो ।
आयुक्त भण्डारीले आयोगले हालसम्म दर्जनौं उम्मेदवारहरुलाई स्पष्टिकरण सोधिसकेको जानकारी दिनुभयो । स्पष्टिकरण चित्त बुझ्दो नभएमा थप कानूनी कारबाही अगाडी बढाइने, आचारसंहिता पालना गराउने सन्दर्भमा आयोग निर्मम र निर्दयी भएर अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो ।
इमेजले उल्लेख गरेको छ।