काठमाडौं । सत्ता गठबन्धनको बैठक बागी उम्मेदवारकाे विषयमा छलफल गर्नका लागि साेमबार बस्ने भएकाे छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साेमबार दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएको नेकपा एकीकृत समाजवादीका एक नेताले ईमेज खबरलाई बताए । गठबन्धनमा रहेका शीर्ष नेताहरुले आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएर फिर्ता नगर्नेहरुलाई छानविन गरी कारबाही गर्ने भएका छन् ।
प्रतिनिधि र प्रदेश सभामा गठबन्धन भएका क्षेत्रमा गठबन्धन दलका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई फिर्ता गर्न निर्देशन दिएपनि कतिपयले फिर्ता नलिएकाले उनीहरुलाई कस्तो कारबाही गर्ने भन्ने विषयमा बैठकमा छलफल हुने बुझिएको छ । गठबन्धनका शीर्ष नेताहरुले साेमबार नै संयुक्त अपिल जारी गर्ने भएका छन् ।
अपीलमा गठबन्धनको औचित्य, आवस्यकता तथा गठबन्धनलाई मत दिनुपर्नाको कारणकाे विषय खुलाउँदै अपिल जारी गर्न लागेका छन् ।