– एजेन्सी
काठमाडौं । दक्षिण कोरियाको राजधानी सउलमा ह्यालोविन कार्यक्रम मनाउने क्रममा भएको भागदौडमा कम्तिमा १ सय ५० जनाको मृत्यु भएको छ ।
मृतकहरुमा अधिकांश महिला र २० वर्ष आसपासका रहेका छन् । घटनमा सय जना जति घाइते भएको जनाइएको छ ।
अहिलेसम्म ७६ घाइतेलाई अस्पताल भर्ना गरिएकोमा २० जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।
मृतकहरुमा दुई जना विदेशी भएको पत्ता लागेको छ भने अस्पताल भर्ना गरिएकाहरुमा १५ जना विदेशी रहेका छन ।
नाइटलाइफका लागि लोकप्रिय इतेवन क्षेत्रको साँघुरो गल्लीमा शनिबार राति साढे दश बजेतिर एकै पटक ठूलो संख्यामा मानिसहरु प्रवेश गर्दा ठेलमठेल हुँदा दूर्घटना भएको हो ।
साँघुरो गल्लीमा ठेलमठेल हुँदा ठूलो संख्यामा हताहत भएको सउल प्रहरीले जनाएको छ ।
घटनाप्रति दुःख ब्यक्त गर्दै दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले विस्तृत अनुसन्धानका लागि आदेश दिनुभएको छ । विश्वका विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुले पनि घटनाप्रति दुःख ब्यक्त गरेका छन् ।