दार्चुला घटनाबारे भारतलाई परराष्ट्र मन्त्रालयले पठायो कूटनीतिक नोट

काठमाडौं । महाकाली नदीपारि धार्चुला तावाघाट-लिपुलेक सडक चौडा पार्ने क्रममा बम विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका-२, दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको घटनालाई लिएर नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ ।

परराष्ट्र मन्त्रालयले आइतबार काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत भारतलाई कूटनीतिक नोट पठाएको हो ।

गृह मन्त्रालयबाट कूटनीतिक नोट पठाउनका लागि परराष्ट्रलाई शनिबार नै पत्र पठाए पनि घटनाको विस्तृत रिपोर्ट नआएका कारण आइतबार कूटनीतिक नोट पठाइएको मन्त्रालयले जनाएको छ ।

कुटनीतिक नोटमा पीडितलाई उचित राहत र क्षतिपूर्ति दिलाउनका लागि आग्रह गरिएको छ । साथै अन्तर्राष्ट्रिय सिमानामा यस्ता गतिविधि गर्दा नेपाली पक्ष र सम्बन्धित स्थानीय प्रशासन र बासिन्दालाई समेत अगाडि नै जानकारी दिन आग्रह गरिएको छ ।

भारतीय सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले घटनामा गल्ती स्वीकार गर्दै माफी मागेर मृतकको परिवारलाई १० लाख रुपैयाँ भारु राहत पनि उपलब्ध गराएको छ । ढुंगा लागेर पवनकी दिदी १४ वर्षीया सरिना महरा घाइते भएकी छन् । उनीहरू बुबा हिक्मतसिंहसँगै व्यासकै थी गाउँबाट महाकालीको किनारैकिनार दुम्लिङस्थित घर फर्कंदै थिए ।

नेपालको प्रशासन र प्रभावित क्षेत्रका बासिन्दालाई पूर्वजानकारी नै नदिई भारतीय पक्षले शुक्रबार बिहान विस्फोट गराएको थियो ।