काठमाडौं । आगमी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारहरुले आज बिहीबारदेखि चुनाव प्रचार प्रसार गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगले यस पटकदेखि मतदानको १७ दिन अघिदेखि मात्रै चुनाव प्रचार प्रसार गर्न पाउने आचार संहिता लागू गरेकाले बिहीबारदेखि मात्र दल तथा उम्मेदवारहरुले प्रचारप्रसारका लागि जुलुस, आमसभा र कोणसभा गर्न पाउने हुन् ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ । उक्त ब्यवस्था अनुसार कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म प्रचारप्रसार गर्न पाउने बाटो खुलेको हो ।
यसैबीच, निर्वाचन आयोगले स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सात बूँदे निर्देशन दिएको छ ।
निर्वाचनमा यातायातको सहज पहुँचका लागि आवश्यक ब्यवस्था गर्नुपर्ने, निर्वाचन सम्बन्धि सूचनाहरु सर्वसाधारणले देख्न र पढ्न सक्ने गरी सवैको पहुँचमा पुर्याउनु पर्ने, आयोगबाट उत्पादिन विज्ञापन तथा लोककल्याणकारी विज्ञापनहरु सवै छापा एवं विद्युतीय सञ्चार माध्यमबाट प्रकाशन र प्रसारण हुने व्यवस्था गर्नुपर्ने तथा सरकारी, सामुदायिक तथा निजी अस्पताल, नर्सिङ होम लगायत सबै स्वास्थ्य संस्थाहरू निर्वाध रूपमा सञ्चालन हुने व्यवस्था मिलाउनुपर्ने निर्देशन दिइएको छ ।
यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाल टेलिकम, निजी क्षेत्रका सञ्चार सेवा प्रदायक संस्था तथा विकास आयोजना निर्वाध चालु रहने ब्यवस्था गर्नुपर्ने, निर्वाचनमा खटाइएका वा तोकिएका निजामती वा अन्य सरकारी कर्मचारी वा सुरक्षा कर्मीले कुनै किसिमको डर, धम्की वा प्रलोभन दिएमा आवश्यक कारबाहीको व्यवस्था गर्ने र आयोगको आदेश वा निर्देशनको जानाजानी उल्लंघन हुने गरी वा वदनियतले कुनै काम कारबाही गरेमा वा निर्वाचनको निष्पक्षतामा असर पर्ने काम गरेमा आयोगले त्यस्तो कर्मचारी, सुरक्षाकर्मी उपर निजको सेवा शर्त सम्बन्धी प्रचलित कानून बमोजिम अख्तियारवालाको अधिकार प्रयोग गरी विभागीय कारबाही गर्न सक्ने व्यवस्था भएकोले सो बमोजिम गर्ने गराउने व्यवस्था गर्नका लागि पनि आयोगले निर्देशन दिएको छ ।