सन्दीप लामिछाने प्रकरणमा अदालतले खाेज्याे पीडित किशाेरीकाे जन्मदर्ता

काठमाडौं । सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको कसूरमा किटानी जाहेरी दिने किशोरीको जन्मदर्ताको अभिलेख झिकाउन अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले लामिछानेविरुद्ध जबर्जस्ती करणीको कसूरमा किटानी जाहेरी दिने किशोरीको जन्मदर्ताको अभिलेख किताबको सक्कल प्रति झिकाउन आदेश दिएको हाे ।

उक्त मुद्दाको मुद्दाको थुनछेक बहसका क्रममा लामिछाने पक्षका वकिलले जाहेरीकर्ता नाबालिग नभएको दाबी गर्दै उनको जन्ममितिमा विवाद भएको बताएका थिए ।

उनीहरुले किशोरीको जन्ममिति २०६१ जेठ १८ गते रहेको विवरण अदालतमा पेश गरेका थिए । तर जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा पेश गरेको कागजातमा उनको जन्ममिति २०६२ जेठ १८ गते उल्लेख छ ।

साेही विषयलाई छिनाेफानाे गर्न अदालतले जन्मदर्ता अभिलेख किताबको सक्कल प्रति झिकाउन आदेश दिएकाे हाे । -इमेज