बहुदल प्राप्ती पछि निरन्तर अर्घा बाटै संसद

– बिरेन्द्र के सी /कान्तिपुर ।

अर्घाखाँची — अर्घा गाउँबाट राजनीतिमा लागेकाहरू निर्वाचित हुने क्रम अर्घाखाँचीका अन्य बस्तीको तुलनामा अग्रणी छ । यहाँबाट सधैं सांसद चुनिने क्रमलाई टोपबहादुर रायमाझीले निरन्तरता दिएका छन् । माओवादी छाडेर एमालेमा गएका उनी यस पटक पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

जिल्लामा ०४८ देखि ०७९ सम्म भएका निर्वाचनमा अर्घाबाटै सांसद चुनिएका छन् । हालका एमाले सचिव रायमाझी चौथो पटक निरन्तर चुनावमा विजयी भएका हुन् ।

लुम्बिनीको प्रदेशसभा–१ मा एमालेका चेतनारायण आचार्य निर्वाचित भए । उनी पनि अर्घाकै हुन् । आचार्य प्रदेश सांसदमा दोस्रो पटक निर्वाचित भएका हुन् । ०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएर लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री भएका थिए । अर्घाकै रेवतीप्रसाद भुसाल कांग्रेसबाट ०४८ र ०५१ मा सांसदमा निर्वाचित भएर पर्यटन राज्यमन्त्री भएका थिए । ०५६ मा राजमोबाट डिलाराम आचार्य निर्वाचित भए, उनी अहिले माओवादी केन्द्रको केन्द्रीय सचिव छन् । पञ्चायतकालमा रेवतीप्रसादका पिता नारायणप्रसाद भुसाल ०१९ देखि ०२८ सालसम्म लगातार चार पटक चुनाव जितेर जिल्ला पञ्चायत सदस्य भएका थिए ।

अर्घा गाउँ सन्धिखर्क नगरपालिका–९ मा पर्छ । हरेक चुनावमा आफ्नै गाउँका उम्मेदवारले चुनाव जित्दा अर्घावासी उत्साहित छन् । अर्घा रजस्थल माविका पूर्वशिक्षक शालिकराम भुसालले सधैंका चुनावमा अर्घाकै सांसद चुनिनु गौरवको विषय भएको बताउँछन् । ‘यसरी एउटै गाउँका व्यक्ति निरन्तर सांसद हुनु राजनीतिप्रतिको लगाब हो,’ उनले भने, ‘चुनाव जितेपछि हरेक सांसदले गाउँको विकासमा योगदान पुर्‍याएका छन् ।’

अर्घा गाउँ विकासमा नमुना नै भएको उनी बताउँछन् । सदरमुकाम सन्धिखर्क–धरमपानी–मिनिकोट–अर्घा सडक कालोपत्र भएको छ । टोलबस्तीमा व्यवस्थित सडक छन् । घर–घरमा बिजुली र खानेपानीका धारा पुगेका छन् । अधिकांश बालबालिका विद्यालयको पहुँचमा छन् । इन्टरनेटको सुविधा छ । गाउँमै स्वास्थ्य चौकी छ । स्कुल भवन, मठमन्दिरसहित पूर्वाधारका योजनामा अझै काम धमाधम भइरहेका छन् । मसुरपाटामा खेलकुद मैदान तयार हुँदै छ ।

अर्घा प्राकृतिक सुन्दरतासहितको धार्मिक पटकीय स्थल हो । बाइसेचौबिसे राज्य छँदा अर्घामा राजाले शासन चलाएका थिए । नेपाल एकीकरणको सन्दर्भमा अर्घा र खाँचीका राजाले खर्कमा सन्धि गरे । त्यसपछि जिल्लाको नाम अर्घाखाँची र सदरमुकामको नाम सन्धिखर्क रहन गएको बूढापाका बताउँछन् । अर्घाका अन्तिम राजा दलजित राई थिए ।

यसरी लगातार उम्मेदवार, सांसद र मन्त्री एउटै गाउँका हुनु राजनीतिप्रतिको सक्रियता भएको अधिवक्ता जगन्नाथ भुसालले बताउँछन् । ‘कसैको निजी रहरले एउटै गाउँका सधैं उम्मेदवार बन्ने अवस्था आउँदैन,’ उनले भने, ‘राजनीतिप्रतिको क्रियाशीलता, लगाब, त्याग, समर्पण र देनले यो सब हुने हो ।’

आशा परियार अर्घा गाउँमा सहरमा जस्तै सुविधा भएको बताउँछिन् । ‘यहाँबाट विजय भएर गएका सांसदले गाउँको विकास गरेकै छन्, त्यसैमा हामी खुसी छौं,’ उनले भनिन्, ‘नेताहरूलाई जागिर लगाइदेऊ भनेर भनेका छैनौं । गाउँको विकास गरिदिए हामीलाई पुग्छ ।’

अहिलेसम्म यहाँबाट विजयी भएर गएका सांसदले नराम्रो काम गरे, भ्रष्टाचारमा मुछिए भन्ने सुन्न नपरेकामा आफूहरूलाई खुसी लागेको स्थानीय झविलाल परियारले बताए । ‘पाखुरा बजारेर, दुःख गरेरै ज्यान पाल्छौं,’ उनले भने, ‘जागिर देऊ भनेर सताउँदैनौं । देशको नेतृत्व गरून्, राम्रो काम गरून्, यसैमा हामीलाई गर्व छ ।’

प्रतिनिधिसभा सदस्यका लागि एउटा सिट भएको अर्घाखाँचीबाट यस पटक रायमाझी ४२ हजार ६ सय ७५ मतले विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेस नेतृ पुष्पा भुसालले ४० हजार ९ सय ४५ मत ल्याइन् ।

तस्बिर – बिरेन्द्र के .सी

 

अन्य समाचारहरु