अर्घाखाँचीमा ‘स्वास्थ्य बीमा’ कार्यक्रम प्रभावकारी हुन सकेन, ५ बर्ष बितिसक्दा करिब ३६ %ले मात्र सुविधा प्राप्त गरे

नेत्र प्रसाद मरासिनी ।

अर्घाखाँची । सम्पुर्ण नेपाली नागरिकलाई सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनश्चिति गर्ने उद्देश्यले अर्घाखाँचीमा २०७४ सालदेखि सञ्चालन हुँदै आएको स्वास्थ्य बीमा कार्यक्रमले अपेक्षित सेवा प्रवाह गर्न सकेको छैन । दुई लाखभन्दा बढी जनसङ्ख्या रहेको अर्घाखाँची जिल्लामा बीमा कार्यक्रम लागु भएको पाँच बर्ष बितिसक्दा करिब ३६ प्रतिशतले मात्र यो सुविधा प्राप्त गरेको स्वास्थ्य बीमा बोर्ड सन्धिखर्कका दर्ता अधिकारी रामबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार पुरुष ३४ हजार नौ सय ५६ जना र महिला ३७ हजार चार सय ५१ जना गरि जम्मा ७२ हजार ४ सय ७ जना बीमा योजनामा समावेश भएका हुन्। । निःशुल्क तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रवाह गर्ने हेतुले बीमा कार्यक्रम लागु भएको भएपनि अर्घाखाँचीमा भने प्रभावकारी हुन सकेन । चालु आर्थिक वर्षमा ५० प्रतिशतमा यो सेवा बिस्तार गर्ने लक्ष्य रहेको भएपनि लक्ष्यमा पुग्न समस्या रहेको दर्ता अधिकारी थापाले बताए ।

बिमा कार्यक्रमको महत्त्व सर्वसाधारणमा पुर्‍याउन नसक्नु, बिमितले सेवा लिँदा ढिलासुस्ती हुनु, तोकिएको सेवा पाउन स्वास्थ्य संस्थामा बीमा कार्ड लिएर आएकोलाई हेर्ने दृष्टिकोण नै फरक भएकाले पनि स्वास्थ्य बीमा प्रति स्थानीयको चासो कम भएको जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत रामप्रसाद गौतमले जानकारी गराए । स्वास्थ्य बीमाको लागि ५ जना सदस्य रहेको परिवारले ३ हजार ५ सय मा स्वास्थ्य बीमा गराउन सक्नेछन् । बिमा बापत रु. १ लाख बराबरको वार्षिक उपचार खर्च बीमाले भर्ने गर्दछ ।

जिल्लामा अर्घाखाँची अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र बल्कोट, प्राथमिक स्वास्थ्य केन्द्र ठाडा र आँखा उपचार केन्द्र सन्धिखर्कमा बीमाबाट स्वास्थ्य सेवा उपलब्ध रहेको स्वास्थ्य बीमा बोर्ड सन्धिखर्कका दर्ता अधिकारी थापाले बताए । ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक,अति गरिब, पूर्ण अपाङ्ग, एचआइभी संक्रमित, कुष्ठरोगीका लागि निःशुल्क तथा स्वास्थ्य स्वयंसेविकाको लागि ५० प्रतिशत छुटमा स्वास्थ्य बीमा हुने व्यवस्था रहेको छ ।

अन्य समाचारहरु