नेत्र मरासिनी
अर्घाखाँची । सेतै फूलेको कपाल, निधारमा तारे टिका र दौरा सुरुवाल पहिरिएर गाँउभरी पण्डित्याइँ गर्दै हिँड्ने सन्धिखर्क नगरपालिका १० निवासी टिकाराम आचार्य (नाम परिवर्तन) लाई सबैले पण्डित बा भनेर चिन्ने गर्छन् ।
उमेरले डाँडा काटिसक्यो, घरमा दश भुक्तान काम सकेर यजमानको वैदिक कर्म गराउन गाँउभरी हिँड्नु उहाँको दैनिकी नै बनेको छ ।
मंसिरमा धान भित्राइ सकेपछि सबैले खेतमा गहुँ छर्ने तर्खरमा लागे । बाझो खेत खनजोत गरी गहुँ छर्ने मेलोमेसो मिलाउन भन्दै पण्डित बा गोरु र हली खोज्न गाउँ भरी चाहार्नुभयो तर कहीँ गोरु र हली फेला पर्न सकेनन् । छिमेकी सबैले खेत जोती सके तर पण्डित बा को मात्र बाझै रह्यो । घरमा गोरु पाल्ने जहान छैनन्, कहिकतै गोरु पाइहाले पनि हली पाइँदैन, आफ्नो हातबाट हलो चल्दैन ।
निरास मुद्रामा पण्डित बा ले भन्नुभयो “घरभरि जहान हुन्थे गोठभरि डिँगा पालिन्थ्यो, गाँउमा जनशक्तिको कमी नहुने हुँदा खेताला जाने, अर्म पर्म गर्ने चलन थियो आजकाल सब हरायो । ”
७५ वर्ष पार गरिसकेका पण्डित बा ले अहिलेसम्म आफूले हलो जोत्नुभएन, पण्डित्याइँ गर्नेहरूले हलो जोत्नु हुँदैन भन्ने मान्यता समाजमा रहेकाले आफूले हलो नजोतेको उहाँले बताउनुभयो ।
छिमेकी सबैको खेत हरियाली हुन लाग्दा समेत पण्डित बा ले गहुँ छर्न सक्नुभएन । फलानाको खेत बाझो भयो भनी गाउँले हरुले कुरा काट्ने भए भन्ने डरले चिन्तित पण्डित बा को मनमा नयाँ सोच आयो ।
छिमेकीको घरमा रहेको हाते ट्याक्टर लिनुभयो अनि खेत छर्न लाग्नुभयो । न गोरुको चिन्ता न हलीको, पण्डित बा ले हलो जोते भन्ने हुन्की भन्ने डर समेत हाते ट्याक्टर प्रयोगले हटाइदियो ।
पण्डित बा समाजको प्रतिनिधि पात्र हुनुहुन्छ, आधुनिकता सँगै कृषिमा हुँदै गएको यान्त्रीकरणले परम्परागत साधन हलो, जुवा लोप हुने अवस्थामा छन् भने गोरु पाल्ने प्रचलन हराउँदै गएको छ ।
ग्रामीण क्षेत्रमा रोजगारीका अवसर नहुने, परम्परागत खेती प्रणालीबाट परिवार पाल्न मुस्किल हुन थालेपछि गाउँ छाड्ने सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । जसले गर्दा शहर झाँगिँदै छन् भने गाउँ नाङ्गिँदै………
ग्रामीण बस्तीहरूमा वृद्धवृद्धा मात्र बसोबास गर्ने, युवा जनशक्ति विभिन्न सिलसिलामा शहर पस्ने प्रचलनले गाउँ वृद्धाश्रम जस्तै बनेका छन् । गाउँका खेतीयोग्य जमिन बाझिँदै जाँदा दिनप्रतिदिन खाद्यान्नमा परनिर्भरता बढ्दै गइरहेको यथार्थ हामीमाझ घामजस्तै छर्लङ्ग छ ।