-ह्रदय भुसाल ,अर्घाखाची ।
अर्घाखाँची । भूमिकास्थान नगरपालिकाको चालु आर्थिक वर्षका लागि नगरपरिषद्वारा विनियोजित जम्मा २ सय ८ योजना मध्ये १ सय ४९ योजना सम्झौता भएको जसमध्ये ११ योजना टेन्डर प्रक्रियाबाट अगाडि बढेको र ४८ योजना सम्झौता गर्न बाँकी रहेको र दुई वटा योजनाको भुक्तानीसमेत भइसकेको योजना शाखाका प्रमुख तथा सूचना अधिकारी हरिशचन्द्र भुसालले जानकारी दिए ।
भूमिकास्थान नगरपालिकाको आ.व. (०७९/८०) को प्रथम चौमासिक सार्वजनिक सुनुवाई तथा प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा योजना तथा कार्यक्रमहरूको सञ्चालन जसको वित्तीय तथा भौतिक प्रगतिको बारेमा समेत जानकारी गराइएको छ । प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका सुझाव जिज्ञासा र प्रश्नको जवाफ दिँदै नगरप्रमुख झबिलाल थापाले सुशासनमैत्री नगरपालिका बनाउँदै विकास र समृद्धिको यात्रालाई सबै पक्षलाई मिलाई अगाडि बढाउने बताए । नगरप्रमुख थापाले पञ्च वर्षीय योजना बनाई विकासको कामलाई गुणस्तरीय तबरले दिगो विकासमा ध्यान दिँदै जनताका माग र आवश्यकता अनुसारका योजना तथा कार्यक्रम सञ्चालन गर्ने बताए ।
थापाले भने, ‘हामी जनताको काम गर्न आएका हाैं, दिनरात नभनी काम गर्छौं, समान तवरले विकास गर्छौं, सबैको भावनालाई समेट्छु, सुझाव सल्लाह लिएरै काम गर्ने हो, कसैप्रति कुनै खालको पूर्वाग्राह हुने छैन ।’ प्रमुख प्रशासकीय अधिकृत नारायण प्रोख्रेलले कार्यालयबाट सम्पादन हुने कामलाई छिटो, छरिता,े चुस्त दुरुस्त बनाउँदै सेवाग्राहीको भावनालाई केन्द्र भागमा राखेर काम गर्ने भन्दै, जतिबेला पनि आएका सुझाव सल्लाहलाई ग्रहण गर्दे सेवा प्रवाहलाई थप प्रविधी मैत्री बनाउने बताए ।
कार्यालय प्रमुख पोख्रेलले,भने, ‘हामी जनताको सेवामा लाग्दा कुनै कर्मचारीले गलत नियत राखेको प्रमाण पाए तत्काल कानुन बमोजिम कारबाही गर्छ, कोही केही भए तत्काल जानकारी पाँउ, सेवाग्राहीमैत्री काम गर्न हाम्रो टिम प्रतिबद्ध छ ।
’सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण शैक्षिक तथा सामुदायिक परामर्श केन्द अर्घाखाँचीका सुरज सारु र धर्म भुसालले गरेका थिए । कार्यक्रममा पत्रकार महासंघका सहसचिव हृदय भुसाल लगायतले मन्तव्य राखेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा नगर भित्रका १ सय ३ जना सेवाग्राहीबाट गरेको नागरिक अभिमत पत्र र बहिर्गमन पत्रमा नगरको समग्र सेवा प्रवाहको बारेमा नागरिकले अभिव्यक्त गरेको धारणलाई प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सरोकारवालाको सहभागिता रहेको थियो । सँगै प्रगति समिक्षा कार्यक्रममा नगरभित्रका विभिन्न विषयगत कार्यालय, १० वटै वडाका तर्फबाट वडासचिवले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । चालु आर्थिक वर्षमा नगरपालिका पाँच वटा नगरकार्यपालिका बैठक ४० महत्वपूर्ण निर्णय भएको नगरले जनाएको छ । सो कार्यक्रमको सञ्चालन शेषकान्त घिमिरेले गरेको थिए ।