– काेमल शेरचन
काठमाडौं । संसदको सर्वाधिक ठूलो दल नेपाली कांग्रेसले संसदीय दलको नेता चुनेपछि भावी सरकारको स्वरुपबारे विभिन्न कोणबाट विश्लेषण हुन थालेको छ । एकाध दलले सरकार बन्न नसक्ने, चुनावबाट पहिलो, दोस्रो र तेस्रो दल बनेका दलका शीर्ष नेतृत्वमा प्रधानमन्त्रीको भोक बढ्दै जाँदा संसदमा प्राप्त अंकगणितअनुसार बहुआयामिक बाटा देखिएका छन् ।
संसदमा पाँच स्वतन्त्रसहित १२ राजनीतिक दलको प्रतिनिधित्व रहेको छ । २७५ सदस्यीय प्रतिनिधि सभामा रहेको सदस्य संख्याको बहुमत प्राप्त गर्ने राजनीतिक दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था छ । संसदमा कांग्रेस ८९, एमाले ७८, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पाटी २०, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, जनता समाजवादी पार्टी १२, नेकपा एस १०, जनमत पार्टी ६, लोकतान्त्रिक समाजावादी पार्टी ४, नागरिक उन्मुक्ति ३, नेपाल मजदुर किसान पार्टी १, राष्ट्रिय जनमोर्चा १ र ५ स्वतन्त्र सांसद रहेका छन् ।
संसदको अंकगणित हेर्दा कांग्रेस, एमाले र माओवादी नेतृत्वमा सरकार बन्न सक्ने सम्भावना देखिन्छ । त्यसमा पनि विभिन्न विकल्पमा सरकारको जोडघटाउ हेर्न सकिन्छ । शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालले कस्तो अवस्थामा सरकार बनाउन सक्नुहुन्छ ? सरकार गठनका लागि १३८ सांसद आवश्यक पर्छ । अहिलेको ५ दलीय गठबन्धनमा २ सिट नपुग्ने हुनाले जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउने प्रयास भइरहेको देखिन्छ ।
यसो भयो भने राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश सरकार पनि यही गठबन्धनको हिसाबकिताबमा बन्ने छ । सरकार बन्ने विभिन्न विकल्पमा बहस हुँदा गठबन्धनभित्र कुरा मिलेन भने नेकपा एमाले र कांग्रेसबीचको अर्को गठबन्धन हुन सक्ने बाटो पनि कायमै छ । जहाँ कांग्रेस र एमालेका केही नेताले प्रयास गरेका छन् भने नागरिक अगुवाले पनि स्थिरताका लागि कांग्रेस र एमाले मिल्न दवाव दिएका छन् ।
देउवाको नेतृत्वमा कुनै पनि हालतमा सरकार बन्न नसक्ने अवस्था आएमा सरकारको नेतृत्वका अर्का दाबेदार हुनुहुन्छ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । कांग्रेससँगको सहयात्रा विफल भए एमालेसँग गठबन्धन गरेर पनि प्रधानमन्त्री बन्ने भित्री दौडमा दाहाल हुनुहुन्छ ।
कांग्रेस र माओवादीबीच हुने सहमतिले दाहाल प्रधानमन्त्री बन्ने अवस्था आएमा देउवा प्रधानमन्त्री बन्न सक्ने पहिलो विकल्प जस्तै गठबन्धन बन्ने छ । त्यसमा सरकारको नेतृत्व दाहालले गर्ने निश्चित छ । त्यस्तो गठबन्धन बन्ने अवस्थामा आएमा कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एस, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, राजमो रहने छन् ।
दाहालले आफू जसरी पनि प्रधानमन्त्री बन्न चाहेमा अर्को बाटो छ । त्यो हो– कांग्रेस ईतर राजनीतिक दलसँग सहकार्य गर्ने । नेकपा एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुले पनि यो प्रयास जारी राखेका छन् । यस्तो, अवस्था आएमा एमाले, माओवादी केन्द्र, जसपा, नेकपा एस, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राजमो हुन सक्ने छन् । यस्तो गठबन्धन बनेमा कांग्रेस बाहिरै रहने छ भने १४६ जना सांसदको समर्थनसहितको सरकार बन्न सक्ने छ ।
संसदको अंकगणित हेर्दा ओली नेतृत्वमा सरकार बन्न सक्ने बाटो पनि सुरक्षित छ । ओलीले सहज अवस्थामा नेकपा माओवादी केन्द्रलाई साथमा लिएर सरकार बनाउन सक्नुहुन्छ, जहाँ राष्ट्रपतिसहित सबै निकायमा हुने नियुक्ति र चुनावी प्रक्रिया पहिले नै बाँडफाँटमा सहमति अग्रिम सर्त बन्ने छ ।