चीनले विदेश भ्रमण खुला गरेपछि अन्य देश बने सतर्क

 

 

1903-x-650_1.jpg

 

काठमाडौं । देशभित्र कोरोना संक्रमण झन् तीव्र बनेको बेला चीनले आफ्ना नागरिकहरूलाई विदेश भ्रमण खुला गरेपछि विश्वका अन्य मुलुकहरू भने सतर्क बनेका छन् ।

अमेरिका, जापान, युरोपेली देशहरू, भारतल लगायतका देशहरूले चिनियाँ पर्यटकको आगमनमा कडाई गर्ने र उनीहरूलाई कोरोना परीक्षण अनिवार्य गर्ने नीति लिएका छन् ।

चीनले जनवरी ८ पछि आफ्ना नागरिकहरूका लागि विदेश भ्रमण खुला गर्ने तयारी गरेको छ । सरकारले भ्रमण खुला गर्ने बित्तिकै चीनबाट ठूलो संख्यामा पर्यटकहरू निस्कने अनुमान गरिएको छ । नयाँ पासपोर्ट बनाउन लाखौं चिनियाँहरुले आवदेन दिँदैछन् ।

अमेरिकाले चीनबाट आउने आगन्तुकहरूमा अनिवार्य कोभिड परीक्षणको नियम लागू गरेको छ । यसअघि इटाली, जापान, मलेसिया, ताइवान र भारतले पनि चिनियाँ नागरिकले अनिवार्य कोरोना परिक्षण गर्नुपर्ने मापदण्ड तय गरेका थिए । झण्डै तीन वर्षको प्रतिबन्धपछि चीनले जनवरी ८ बाट मानिसहरूलाई सहज रूपमा यात्रा गर्न दिने भएको छ ।

यही समयमा देशभित्र कोरोना संक्रमण दर आकासिएपछि विश्वका अन्य देशहरूले चीनबाट आउने आगन्तुकहरुप्रति सतर्कता अपनाएका हुन् । बेलायत सरकारले चिनियाँ यात्रुहरूको लागि परीक्षण वा अन्य प्रवेश मापदण्डको कुनै योजना नभएको बताएको छ ।