– गंगा पन्थी [ लेखक ] हाल ,काठमाण्डौ नेपाल।
” स्मृति “
अल बिदा यमुना दिदी !
२०७९ पुस ७ गते दिउँसो सामाजिक सञ्जाल हेरेको मात्र थिएँ, सामाजिक सञ्जालमा भएका समाचारले स्तब्ध बनायो । त्यो समाचार थियो, महिला आन्दोलनकी अगुवा दिदी यमुना भुसालको निधनको । जिन्दगीको यात्रा पनि विचित्रको हुँदो रहेछ । कसैको जिन्दगी वाल्यावस्थादेखि नै आरामदायी हुने त कसैको संघर्षै संघर्षको । त्यो पनि कतिपय मानिसहरू आफैंले व्यक्तिगत सुखसयल भन्दा पनि जनता, समाज र राष्ट्रका लागि सिंगो जीवन जिउँदा रहेछन । यस्तै, जीवन बाँच्ने मध्येकी एक हुनुहुन्थ्यो, स्व.यमुना भुसाल ।
सन्धिखर्क न.पा.कुर, अर्घाखाँचीमा ०१९ भाद्र ३१ गते एउटा क्रान्तिकारी परिवारमा यमुना भुसालको जन्म भएको थियो । बुवा तीलकराम भुसाल आमा हरिकला भुसालको कोखबाट उहाँको जन्म भएको हो । उहाँ शहिद शोभाखर धनञ्जयकी बहिनी हुनुहुन्छ । ०३५ सालतिर नेपाली कांग्रसको राजनितिमा आकर्षित भई त्यसमा संगठित हुनुभएकी भुसाल ०४० / ०४१ देखि नेपाल कम्युनिस्ट पार्टी मसालमा आबद्ध भई राजनीति गुर्नभयो ।
नेकपा मसालका विभिन्न मोर्चाहरूमा रहेर भूमिका निर्वाह गर्दै ०५८ सालसम्म सो पार्टीको केन्द्रीय नेतृत्वमा रहेर काम गर्नुभयो । ०४१ देखि ०४५÷४६ सम्म उहाँको कार्यक्षेत्र चितवन थियो । ०५८ मा पार्टीमा विवाद आएपछि उहाँ एकता पक्षधर भएर काम गर्नुभयो । ०६२/ ६३ को जनआन्दोलनपछि तत्कालीन नेकपा एकता केन्द्र मसालमा अन्तरविरोध सिर्जना भयो । पछि ०६३ मा नेकपा एकीकृत बन्यो, जुन पार्टीमा भुसाल केन्द्रीय सदस्य हुनुहुन्थ्यो । ०६८ मा मसालको एउटा पंक्ति नेकपा माओवादीसँग एकता प्रक्रियामा सहभागी भयो । उहाँ केन्द्रीय सदस्यकै भूमिकामा कायम रहनुभयो । डा.बाबुराम भटराईले नयाँ शक्ति निर्माण गरेपछि भने उहाँ देश निर्माण गर्ने भनिएको त्यही पार्टीलाई साथ दिन पुग्नुभयो ।
०७४ को आम निर्वाचनपछि नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भयो । कम्युनिस्ट आन्दोलनलाई मजबुत बनाउने भनिएको उक्त अभियानमा उहाँ पनि सामेल हुनुभयो र पार्टीले उहाँलाई प्रदेश कमिटी सदस्यको जिम्मेवारी दियो । नेकपामा फेरि विभाजन आएपछि उहाँ नेकपा समाजवादीमा रही काम गर्न थाल्नुभयो । पछिल्लो समय उहाँ उक्त पार्टीको केन्द्रीय सदस्य एवं अर्घाखाँची जिल्ला सहइञ्चार्जको भूमिकामा क्रियाशील हुनुहुन्थ्यो ।
जिल्लाको विकास निर्माणलगायतका सामाजिक कार्यहरूमा भेट हुँदा उहाँले जहिले पनि प्रगतिशील पक्षधरता लिनुहुन्थ्यो । देश बिग्रिएकोबारे प्रायः चिन्तित हुनुहुने भुसाल सदाबहार उत्साही र जुझारु हुनुहुन्थ्यो । यमुना दिदी जहिले पनि सिर्जनशील हुनुहुन्थ्यो ।
उहाँका भिनाजु डिलाराम पाण्डे भन्नुहुन्छ, ०६३ पछि जिल्लामा गठन हुने सर्वदलीय शान्ति समितिको संयोजकको भूमिकामा रहँदा उहाँले धेरै सिर्जनशील कार्य गर्नुभयो । उहाँले शान्ति नामक नाटक लेखेर प्रदर्शनको व्यवस्था पनि मिलाउनुभयो । त्यस्तै सिर्जनशील कार्यहरूले द्वन्द्वको घाउ मेट्न धेरै काम गरेको थियो । जीवनलाई संघर्षकै रूपमा बुझने भुसालको योगदान नेपालको वाम आन्दोलनमा अतुलनीय छ ।
राजनीतिमा इमान्दार भुसाल मिजासिलो स्वभावको हुनु्हुन्थ्यो । अध्ययनमा रुचि राख्ने उहाँ लेख रचना पनि कोरिरहनुहुन्थ्यो । मानिसहरू व्यक्तिगत स्वार्थमा लिप्त भइरहेको वर्तमान समयमा उहाँको सादा र संघर्षशील जीवन एवं देश, जनता र पार्टीलाई केन्द्रमा राखी निरन्तर लागिरहने उच्च विचार कम्युनिस्ट र प्रगतिशील आन्दोलनमा होमिएकाको लागि अनुकरणीय विषय हुनेछ ।
यमुना भुसालकी राजनीतिक सहकर्मी हिमकला गैरे भुसालको राजनीतिक यात्राको बारेमा २ कुरा बताउँनुहुन्छ । हिमकलाका अनुसार, भुसाल तत्कालीन नेपाली समाजमा महिलालाई हेर्ने दृष्टिदोष हटाउन आन्दोलनमा होमिनुभएको थियो । पारिवारिक राजनीतिक वातावरण तथा दाजुको वलिदानले पनि उहाँलाई समाज रूपान्तरण गर्न थप प्रेरणा दियो ।
भुसालकै राजनीतिक सहकर्मी शारदा राना पार्टी, क्रान्ति र देशका लागि हिँड्नुभएकी भुसाल आफ्नो उदेश्यप्राप्तिका लागि जीवनभर लागिरहेको सुनाउनुहुन्छ । उहाँले भुसालसँगै राजनीतिक आन्दोलनमा लाग्दाको एउटा घटना स्मरण गर्नुभयो । कुरा ०४८ सालतिरको हो । त्यतिबेला पार्टीले आर्थिक संकलन गर्ने जिम्मा महिलालाई दिएको थियो । उक्त अभियानमा भुसाल, हिमकला, शारदा रानालगायत होमिनुभयो ।
उहाँहरूले बिक्री गर्ने भनेर तत्कालीन असुरकोट गा.वि.समा केरा खरिद गर्नुभयो । खाँचीमा अलिकति केरा बिक्री भए । तर धेरै बाँकी रह्यो । चर्तुदशीको दिन थियो, जानुपर्ने अर्घा । अर्घाको गच्छेगैरा पुग्दा मण्डलेहरूसँग उहाँहरूको जम्काभेट भयो । मण्डलेहरूलाई के चाहियो, लखेटी हाले । बाँकी केरा फ्याँकेर भाग्नुको विकल्प थिएन । यसक्रममा रानाको खुट्टामा काँडा बिज्यो । उहाँ हिड्न सक्नुभएन ।
अर्घामा त्यतिबेला हरेक चतुदर्शीको साँझ कार्यक्रम हुने गथ्र्यो । राना राम्रो नाच्ने कलाकारमध्ये एक हुनुहुन्छ । गच्छेगैराबाट यमुना, हिमकलालगायतले बोकेर शारदालाई अर्घा पुर्याउनुभयो । यसक्रममा यमुना धेरै ठाउँमा बोक्नेमा पर्नुभयो । यमुना भुसाल जुझारु हुनुहुन्थ्यो । पार्टीले दिएको कामलाई जसरी पनि फत्ते गर्नुपर्छ भन्ने उहाँमा थियो । उहाँ सिंगो नेपाली महिला आन्दोलनकी प्रेरणाकी स्रोत हुनुहुन्छ ।
विद्यार्थीकालदेखि जीवनको अन्तिम समयसम्म भुसालले संघर्षशील र प्रेरणादायी जीवन बिताउनुभयो । उहाँ सरल र हक्की स्वाभावको हुनुहुन्थ्यो । तर शरीरले साथ दिएन । केही समय पहिलेदेखि उहाँ मस्तिष्कमा रक्तश्रावको बिरामी हुनुहुन्थ्यो । पछिल्लो समय स्वास्थ्य अवस्था सामान्य नै थियो । तर उहाँले मृत्युलाई जित्न सक्नुभएन ।
धेरै यमुनाहरूको त्याग, तपस्या र वलिदानबाट ०४६ मा बहुदलीय व्यवस्था आयो भने ०६२/६३ मा राजतन्त्रको नै अन्त्य भएर गणतन्त्र हासिल भयो । देशमा पटक–पटक कम्युनिस्टहरूले सरकार सञ्चालन गर्ने अवस्था पनि आयो । तर यमुना दिदीले देखेको गरिब, दुःखी जनताको राज्य निर्माण गर्ने सपना भने अधुरै रहे ।
पञ्चायतकालीन कालारात्रिका कठिन दिन पार गर्दै सदावहार जनताका आवाज बोल्ने यमुना भुसाल ६० वर्षकै उमेरमा ०७९ पुस ७ गते सदाको लागि हामीलाई यस संसारबाट छाडेर अस्ताउनुभयो । भौतिक रूपमा अस्ताए पनि स्व.यमुना दिदीको सादा जीवन र उच्च विचार आम श्रमजीवी जनताको मन र मस्तिष्कमा सदा रहिरहनेछ ।
अलबिदा यमुना दिदी !
– गंगा पन्थी [ लेखक ]
हाल ,काठमाण्डौ नेपाल।