-एजेन्सी
काठमाडौं । रुसले हाइपरसोनिक क्रुज क्षेप्यास्त्रसहितको पानी जहाज आन्द्र महासागर र भारतीय महासागरतर्फ पठाएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक हजार किलोमिटर परसम्म मार हान्न सक्ने हाइपरसोनिक क्षेप्यास्त्रसहितको ‘एडमिरल गोर्शकोभ’ नामको पानीजहाज आन्द्र महासागर र भारतीय महासागरमा तैरिने गरी पठाउनु भएको हो ।
युक्रेन युद्ध झन् चर्किंदै जाँदा रुसले आफ्नो सैन्य क्षमता प्रदर्शन गर्नका लागि यस्तो कदम चालेको विश्लेषण गरिएको छ ।
पानी जहाजमा अत्याधुनिक हाइपरसोनिक क्षेप्यास्त्र प्रणाली जिरकोन रहेको जानकारी दिँदै पुटिनले मातृभूमिको सेवामा सफलताको कामना गर्नुभएको थियो ।
युद्धपोत आन्द्र महासागर, भारतीय महासागर र भू–मध्य महासागरमा तैरिने र यसबाट जल र थलमा शत्रुहरु विरुद्ध एक हजार किलोमिटरसम्म निशाना लगाउन सकिने रुसी रक्षामन्त्री सर्गेइ सोइगुको भनाइ छ ।
रुस विरुद्धको धम्कीको सामना गर्ने र क्षेत्रीय स्थायित्वका लागि मित्र देशहरुलाई आश्वस्त पार्नका लागि यो युद्धपोत पठाइएको तर्क पनि उहाँको छ । हाइपरसोनिक क्षेप्यास्त्रको गति आवाज भन्दा पाँच गुणा छिटो रहेको छ ।