राष्ट्रपति पद मेरो लागि होइन : डा. सन्दुक रुइत [ इशा अवार्ड विजेता ]

काठमाडौं । वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले राष्ट्रपति पद आफ्नो लागि नबनाएको बताउनुभएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको बताउनुभएको हो ।

उहाँले आफूले गर्ने कामको बारेमा राम्रोसँग जानकार रहेको र राष्ट्रपति पदमा गएर भन्दा बाहिर रहेर नै आफूले गर्नुपर्ने कामहरु धेरै रहेको बताउनुभयो । उहाँले राष्ट्रपति पदलाई राम्रो बनाउनका लागि गर्नुपर्ने धेरै कामहरु रहेको पनि बताउनुभयो ।

हालै बहराइनको प्रतिष्ठित इशा अवार्ड पाएपछि उहाँले बुधबार पत्रकार सम्मेलन गर्नुभएको थियो । इशा अवार्ड पाएपछि सामाजिक सञ्जालमा डा. रुइतलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठेका थिए ।

डा. रुइतले अन्तर्राष्ट्रिय अवार्ड एक नेपालीले पाउनु भनेको विश्व मानचित्रमा नेपालको आत्मसम्मान र प्रतिष्ठा बढ्नु रहेको बताउनुभयो । उहाँले आफ्नो जीवनकै ठूलो कमाइका रुपमा इशा अवार्डलाई हेरेको बताउनुभयो । उहाँले राज्यले यो अवार्डलाई कसरी लिन्छ भन्ने बारेमा आफूले ध्यान दिइरहेको पनि बताउनुभयो । उहाँले नेपालमा आँखा उपचारको क्षेत्रलाई सबैतिर विस्तार गर्न आवश्यक रहेको पनि बताउनुभयो ।

डा. रुइतले आफ्नो पछिल्लो उपलब्धीलाई सरकारले कसरी लिन्छ भन्नेकुरा नियालीरहेको पनि बताउनुभयो ।