देशकै ठुलो नगरपालिका टुक्राउने कि विशेष क्षेत्र बनाउने विषयमा विवाद, कहिले सम्म नगरसभा बैठक अनिश्चित ?

 

 

-नेत्र मरासिनी / आर एन 

अर्घाखाँची । अर्घाखाँचीको दक्षिणी भेगमा अवस्थित भौगोलिक दृष्टिकोणले देशको सबैभन्दा ठूलो नगरपालिका शितगंगामा यती बेला नगरपालिका फुटाउनु पर्ने आवाज उठिरहेको छ ।

अर्घाखाँची जिल्लाको कुल क्षेत्रफलको ४९ दशमलव २६ प्रतिशत भूभाग शितगंगा नगरपालिकाले एक्लै ओगटेको छ । शितगंगामा १४ वटा वडा रहेका छन् । जिल्लाको १२३९ दशमलव ०८ प्रतिशत भूभाग मध्ये ६२८ दशमलव ६५ वर्ग किलोमिटर जिल्लाका पाँच पालिकाले ओगटेका छन् भने शितगंगा एक्लैले ६ सय १० दशमलव ४३ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ ।

पालिकालाई टुक्राउने विषयमा विवाद हुँदा पौष २७ गते बुधवारका लागी तोकिएको नगरसभाको बैठक समेत स्थगित भएको छ । मिति तोकिएको नगरसभामा नगरपालिकाको पुनः संरचनाको विषयलाई लिएर दुई पक्ष बिच विवाद भएपछि नगरसभा स्थगित गरिएको हो । अर्को सूचना जारी नभएसम्मका लागि नगरसभा स्थगित भएको प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बताउनुभयो ।

आधा अर्घाखाँची ओगटेको शितगंगा नगरपालिकामा अन्य स्थानीय तह सरह नै बजेट आउने गरेकाले विकासमा बाधा पुगेको निष्कर्ष सहित फुटाएर तिन वटा गाउँपालिका बनाउनु पर्ने दबाब बढेको छ । नगरपालिकाको भौगोलिक बनावट, छरिएको बस्ती, अत्यधिक वन क्षेत्र तथा विकटताले त्यहाँको विकास सोचेजस्तो हुन नसकेको भन्दै पुनः संरचना गर्नुपर्ने माग भएको हो ।

राज्यले दिने बजेट बालुवामा पानी खन्याए जस्तो भएको भन्दै नगरपालिकालाई विभाजन नगरी यहाँको विकास अगाडी बढ्न नसक्ने नेकपा एमाले नेता तथा वडा नम्बर–९ का वडाध्यक्ष भिम बहादुर केसीले बताउनुभयो ।

‘क्षेत्रफलका हिसाबले देशकै ठुलो भूभाग भएको नगरपालिका हो । तर, राज्यले हेर्ने दृष्टिकोण समान भयो, समानतामा सधैँ न्याय नहुँदो रहेछ । अब नगरपालिकालाई टुक्राएर तीन वटा पालिकामा विभाजन गरेर अँघी बढ्नु पर्छ’ केसीले भन्नुभयो ।

राजनीतिक तथा कानुनी जटिलताले यो सम्भव नभएको निवर्तमान नगरप्रमुख सूर्य प्रसाद अधिकारीको भनाई छ । आफ्नो कार्यकालमा शितगंगा नगरपालिकालाई ‘विशेष क्षेत्र’ घोषणा गर्न नगरसभाबाट पास गराएर प्रदेशमा पेश गरेको स्मरण गर्दै उहाँले प्रदेश सरकार र जिल्लाबाट प्रतिनिधित्व गर्ने माननीयहरूले वास्ता नगरेको आरोप लगाउनुभयो । त्यति बेला कसैले वास्ता गरेन, अहिले सबैलाई खड्किएको छ ।’ सकेसम्म विशेष क्षेत्र घोषणा गर्नुपर्ने भन्दै अधिकारीले पालिका टुक्राउने कुरा उठान भएपनि पार लगाउन गाह्रो हुने अधिकारीको भनाइ छ ।

विसं. २०७३ मा शितगंगा नगरपालिकाको स्थापना भएको थियो । त्यतीबेला बसेको सर्वदलीय संयन्त्रमा समेत दुई गाउँपालिका बनाउने प्रस्तावमा छलफल भएको थियो । पालिकाको केन्द्र बनाउने विषयमा राजनीतिक दल भित्र कुरा नमिलेपछि एउटै नगरपालिका बनाइएको थियो ।

नगर उपप्रमुख सहितको पक्षले भूगोल ठुलो भएकोले पालिकालाई दुई वा तीन पालिकामा पुनः संरचना गर्ने विषय नगरसभाको पहिलो एजेन्डा बनाउनु पर्ने माग राखेको छ । यस्तै नगरप्रमुख सहित केही वडाध्यक्षले संविधानमा व्यवस्था भए बमोजिम नगरपालिकालाई ‘विशेष क्षेत्र’ बनाउने एजेन्डा राख्नु पर्ने अडान लिएपछि नगरसभा स्थगित भएको हो ।

नगरप्रमुख छविलाल पौडेलले सर्वदलीय बैठक बसेर विशेष क्षेत्र बनाउने विषयलाई प्राथमिकता दिने निष्कर्ष निकालेको भन्दै साथीहरूले अहिले अनावश्यक बखेडा झिकेको बताउनुभयो । विशेष क्षेत्र घोषणा नै आफूहरूको पहिलो प्राथमिकता रहेको भन्दै उहाँले पालिका फुटाउनु परे पनि त्यसका कानुनी प्रक्रिया पुरा गर्नु पर्ने भएकाले तत्काल त्यो सम्भव नरहेको बताउनुभयो ।

प्युठान, दाङ, कपिलवस्तु, रुपन्देही र पाल्पा गरी पाँच जिल्लासँग जोडिएको नगरमा ४७ हजार हेक्टरमा वन क्षेत्र छ । मुख्य रुपमा सालको वन रहेको सो क्षेत्रमा खयर, सिसौ पाइन्छ। नदीजन्य पदार्थ ढुङ्गा, बालुवा, गिटीका लागी समेत प्रचुर सम्भावना रहेको नगरलाई टुक्राउने स्थिति बन्यो भने पनि प्राकृतिक सम्पदाको बाँडफाँटको विषयले उत्तिकै विवाद ल्याउने निश्चित छ ।तसर्थ सबैपक्षको सुझबुझबाट नै समस्याको हल निकाल्नु पर्नेमा स्थानियबासीहरुको जोड छ।

अन्य समाचारहरु