-एजेन्सी
वासिङ्टन ।अमेरिकी रोजगारीमा गत महीना अप्रत्यासित रूपमा वृद्धि भएको छ । आर्थिक गतिविधिलाई बढाउने सरकारी प्रयासपछि बेरोजगारी दर पाँच दशकयताकै न्यून दरमा झरेको हो ।
विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र मानिने अमेरिकाको श्रम विभागले जनवरीमा ५ लाख १७ हजार रोजगारी थपिएपछि रोजगारीको दर ३ दशमलव ४ प्रतिशतमा झरेको बताएको छ ।
अवकाश र आतिथ्य, आर्थिक तथा व्यावसायिक सेवा र स्वास्थ्य सेवामा भएको वृद्धिका कारण रोजगारीको वृद्धि व्यापक भएको छ । केन्द्रीय बैंकले बढ्दो मुद्रास्फीतिलाई कम गर्न आक्रामक अभियान शुरु गर्दा चिन्ताको एक प्रमुख क्षेत्र चाहीं श्रम बजार भएको छ । अमेरिकी श्रम बजारमा उपलब्ध कामदारहरूको आपूर्तिभन्दा बढी माग रहेको छ ।
अहिले रोजगारदाताहरू महामारीको समयमा पनि कर्मचारीहरू कायम राखी राख्न उत्सुक छन् । सामान्यतया ब्याज दर बढ्दै जाँदा बेरोजगारी बढ्ने देखिए पनि बेरोजगार दर ऐतिहासिक रूपमा न्यूनस्तरमा रहेको छ । फेडरल रिजर्भले पनि उच्च तलबले सेवा मुद्रास्फीतिमा योगदान गर्नसक्छ भन्ने चिन्तामा ज्याला वृद्धिको निगरानी गरिरहेको छ ।
जनवरीमा औसत अमेरिकी नागरिकको प्रतिघण्टा आम्दानी शून्य दशमलव ३ प्रतिशतले बढेर ३३ दशमलव शून्य ३ डलर पुगेको श्रम विभागले जानकारी दिएको छ ।