-सागर महत ,अर्घाखाची ।
अर्घाखाँची । लुम्बिनी प्रदेश सरकारले बढ्दो खानेपानीको माग सम्बोधनमा देखिएका चुनौतीको व्यवस्थापन सहकार्यका लागि सबै क्षेत्रसँग सहकार्य गरेर काम गर्ने भएकाे छ ।लुम्बिनी प्रदेशका खानेपानी ग्रामीण तथा शहरी विकास मन्त्री चेतनारायण आचार्यले ५ वर्षभित्रमा यस प्रदेशमा खानेपानीको विस्तार हुने बताउनुभएको हाे । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले सदरमुकाम सन्धिखर्कमा आइतबार गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
आवश्यताको आधारमा विभिन्न मापदण्ड तयार पारेर सबैको घर-घरमा खानेपानीका योजना सम्पन्न गर्ने योजनाका साथ अगाडि बढेको मन्त्री आचार्यले बताउनुभयो । जिल्लामा थालनी गरेका कामलाई निरन्तरता दिंदै अधूरा कामलाई पनि क्रमश अगाडि बढाउने उहाँले बताउनुभयो ।
यस अघिकाे प्रदेश सरकारको पालामा खानेपानी क्षेत्रमा प्रदेश सरकारमा ४ सय वटा योजना भएकाे उहाँले बताउनुभयाे । तर अहिले बढेर ११ सय वटा याेजना पुगेको उहाँकाे भनाइ थियाे । यता जिल्ला अस्पताल अर्घाखाँची सुधारको लागि पहिला भौतिक पूर्वाधार निर्माण गर्ने मन्त्री आचार्यले बताउनुभएको छ। अर्घाखाँची जिल्ला अहिले भाग्यमानी जिल्ला भएको उहाँले बताउनुभयो ।
जिल्लामा संघीय सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र प्रदेशमा खानेपानी ग्रामीण तथा शहरी विकास मन्त्री प्राप्त हुनु भनेको जिल्लाको हरेक विकास क्षेत्रमा काम गर्नको लागि सहज वातावरण सिर्जना हुने उहाँको भनाइ थियाे ।