एजेन्सी । इजरायलमा न्याय प्रणाली परिमार्जन गर्ने सरकारी योजनाविरुद्ध भएको प्रदर्शनले उग्र रूप लिएकाे छ ।
देशको सबै भन्दा ठूलो शहर तेलअविवमा करिब ५ लाख मानिसले राष्ट्रिय झण्डा बोकेर प्रस्तावित न्यायिक सुधारको विरोध गरेका हुन् । लाखौं सर्वसाधारण सहभागी प्रदर्शननका कारण सडक अवरुद्ध हुनुका साथै ब्यापार ब्यवसायमा समेत असर परेको छ ।
त्यसैगरी उत्तरी शहर हाइफामा ५० हजार भन्दा बढी प्रदर्शनमा सहभागी भएका छन् । सडकमा उर्लेको जनलहर देशकै इतिहासमा सबै भन्दा ठूलो भएको जनाइएकाे छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु भने सरकारी योजनाको बचाउ गर्दै अदालतको शक्तिमा अंकुश लगाउने परिवर्तनबाट सरकारका अंगहरूबीच सन्तुलन कायम हुने दावी गर्दै आउनु भएको छ ।
विपक्षीहरूले भने प्रधानमन्त्री नेतान्याहुको यो दावीलाई लोकतन्त्र जोखिममा पार्ने बताउँदै आएका छन् । प्रदर्शनमा सहभागीहरुले सरकारी योजना न्यायिक सुधार नभएको भन्दै त्यसले इजरायललाई पूर्ण तानाशाही पद्धतिमा लैजाने जिकीर गरेका छन् ।