युक्रेन प्रकरणले रुस र अमेरिकाबीच सीधा टकरावको खतरा

एजेन्सी । युक्रेन युद्ध प्रकरणले दुई ठूला शक्ति राष्ट्र रुस र अमेरिकाबीच सिधा टकरावको खतरा बढेको छ ।

मंगलबार अमेरिकाको एउटा मानवरहित ड्रोन रुसी लडाकु विमानसँग ठोकिएर दुर्घटनाग्रस्त भएलगत्तै अन्तर्राष्ट्रिय सुरक्षामा गम्भिर चुनौती थपिएको हो ।

रुसी लडाकु विमानसँग ठोकिएर आफ्नो एम. क्यु. नाइन ड्रोन विमान कृष्ण सागरमा खसेको अमेरीकी रक्षा मन्त्रालयको दाबी छ । सामान्य ड्रोनभन्दा फरक र विशेष क्षमताको यो ड्रोनको पखेटा २० मिटरसम्म चौडा छन् । रुसले अमेरिकी ड्रोन विमान तिव्र गतिमा मोडिन खोज्दा आफैं दुर्घटनामा परेको बताएको छ ।

कृष्ण सागरमाथि अमेरिकी मानवरहित ड्रोनले जासुसी र निगरानीका लागि फन्को लगाइरहँदा दुई वटा रुसी लडाकु विमानले त्यसलाई घेरा हालेका थिए । राडारले निगरानी गर्न नसक्ने अवस्थामा अमेरिकी सेनाले उडाईरहेको ड्रोन रुसी निशानामा परेपछि यी दुई देश सिधा टकरावको अवस्थामा आइपुगेको सुरक्षा जानकारहरुको विश्लेषण छ ।

यसैबीच, अमेरिकाले अन्तर्राष्ट्रिय जलक्षेत्रमा उडिरहेको ड्रोन खसालेर रुसले हतास मनस्थिति प्रदर्शन गरेको प्रतिक्रिया दिएको छ । अमेरिकी सेनाको युरोप कमाण्डले विज्ञप्ति जारी गर्दै रुसी लडाकु जेट सु–२७ ले ड्रोनलाई ठक्कर दिएर खसालिएको जनाउँदै रुसी कदमले अबाञ्चित तनाव बढाउन सक्ने बताएको हो ।

यसैगरी, रुसी रक्षा मन्त्रालयले भने अमेरिकी ड्रोन क्राइमियाको आकाश नजिक उडिरहेको तर रुसी लडाकु विमानले भने ठक्कर नदिएको दाबी गरेको छ ।