जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाचीद्वारा जनहितमा जारी सन्देश !
– बिबिसी
एक्वडोरमा शक्तिशाली भूकम्प, कम्तीमा १३ जनाको मृत्यु
एक्वडोरको दक्षिण तटीय क्षेत्रमा गएको एउटा भूकम्पका कारण कम्तीमा १३ जनाको ज्यान गएको छ भने कैयौँ शहरका भवनहरूमा क्षति पुगेको छ।
भूकम्पको धक्का उत्तरी पेरुमा समेत महसुस गरिएको थियो। त्यहाँ सीमावर्ती प्रान्तमा घर भत्किँदा एकजना किशोरीको निधन भएको जनाइएको छ।
एक्वडोरको आधा प्रान्तहरूमा भूकम्पको प्रभाव महसुस गरिएको थियो। यूएस जिओलोजिकल सर्भेले उक्त भूकम्प ६ दशमलव ८ म्याग्निट्यूडको रहेको जनाएको छ।
दक्षिणी प्रान्त एल ओरो सबैभन्दा नराम्रोसँग प्रभावित भएको बताइएको छ।आपत्कालीन सेवाले मानिसहरू अझै पनि भत्किएका घरहरूमा फसिरहेको जनाएका छन्।
क्षतिको विवरण के छ?
सामाजिक सञ्जालमा राखिएका भिडिओमा स्थानीय बासिन्दाहरूले भग्नावशेषहरू हटाएर खोजी कार्य जारी राखेको देख्न सकिन्छ।
स्थानीय समय अनुसार लगभग मध्य दिनमा भूकम्प गएको थियो।
भूकम्पको केन्द्रबिन्दु एक्वडोरको दोस्रो ठूलो शहरभन्दा ८० किलोमिटर टाढा बलाओ भन्ने स्थान नजिकै रहेको विवरण आएका छन्। उक्त शहरमा झन्डै ३० लाख मानिसको बसोबास छ।
एकजना प्रत्यक्षदर्शीले एएफपी समाचार संस्थासँग भने, “मानिसहरू आत्तिएर दौडिरहेको र आफ्नो कारबाट बाहिर निस्किरहेको देखेपछि म पनि सडकमा निस्किए।”