काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल नयाँ कार्यसमिति निर्वाचित भएसँगै महासंघको औपचारिक अध्यक्ष बनेका छन्। उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने प्रावधान छ।
यसअघि अध्यक्ष रहेका शेखर गोल्छाले वरिष्ठ उपाध्यक्ष ढकाललाई पद तथा गोपनीयाको शपथ ग्रहण गराएका थिए।
बुधबार भएको पहिलो चरण निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा कोही पनि निर्वाचित नभएपछि बिहीबार दोस्रो चरणमा अञ्जन श्रेष्ठ महासंघको वरिष्ठ उपाध्यक्ष बनेका हुन्। दोस्रो चरणका लागि वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार उमेशलाल श्रेष्ठले अञ्जन श्रेष्ठलाई समर्थन गरेका थिए।
अध्यक्षको शपथ लिएपछि ढकालले वरिष्ठ अध्यक्षमा भएको सर्वसम्मत सहमतिका लागि प्रदेश र केन्द्रीय सदस्यप्रति आभार प्रकट गरेका छन्। ढकालले आइतबार २ बजेका लागि नयाँ कार्यसमितिको बैठक बोलाएका छन्।
दुई कार्यकाल नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए। आइएमई ग्रुपका संस्थापक अध्यक्ष ५७ वर्षीय ढकालले २०४५ सालबाट व्यवसाय सुरु गरेका हुन्।