सशस्त्र द्वन्द्वमा मारिएका ५ हजारको जिम्मेवारी लिदैनौ – प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वमा मारिएका मध्ये ५ हजारको जिम्मेवारी आफूले नलिएको दावी गरेका छन् । सर्वोच्च अदालतलाई लिखित जवाफ दिदैं उनले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये पाँच हजार व्यक्तिको मृत्युको जिम्मेवारी आफूले नलिएको बताएका छन् ।

List of Prime Ministers of Nepal (1806-2022)

सर्वोच्च अदालतलाई चैत २७ गते पठाइएको लिखित जवाफमा प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते पाँच हजार व्यक्ति मारेको भनी नैतिक जिम्मेवारी लिने साविती बयान दिएको र सो आधारमा तत्काल प्रचलित कानूनी बमोजिम पक्राउ गरी सजाय गर्नुपर्ने भनी रिट निवेदकले लिनुभएको जिकिर सम्बन्धमा प्रथमतः निवेदनमा उल्लेख भए जस्तो पाँच हजार व्यक्तिको मृत्युको जिम्मेवारी लिएको अवस्था नभएको उल्लेख गरेका छन् ।

वारेस लोकमणि पोखरेल मार्फत पठाइएको लिखित जवाफमा प्रसंगवश व्यक्त भएको अभिव्यक्ति विशुद्ध राजनीतिक प्रसंग भएको र त्यसलाई न्यायिक प्रक्रियाबाहिरको विचार वा अभिव्यक्ति मान्नुपर्ने जिकिर पनि गरिएको छ।

ज्ञानेन्द्रराज आरण र चिरञ्जीवी गिरिलगायतले आफ्ना परिवारका सदस्यसहित पाँच हजार व्यक्तिको हत्याको जिम्मेवारी लिएकाले प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक प्रक्रिया अघि बढाउन आदेश माग गर्दै रिट दायर गरेका थिए ।

सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले लगायतको रिटमाथि सुनुवाइ गर्दै गत फागुन २६ गते कारण देखाउ आदेश दिएको थियो। अग्राधिकार दिइएको आदेशमा प्रधानमन्त्री प्रचण्डलाई १५ दिनभित्र लिखित जवाफ दिन आदेश दिए पनि दाहालले एक महिनापछि चैत २७ गते मात्र जवाफ पठाएका थिए । जवाफ पठाउन ढिलाइ हुनुमा उनले कार्यव्यस्तताको कारण भएको स्पष्टीकरण पनि दिएका छन् ।

२०७६ माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित थारु समुदायको माघी महोत्सवमा दाहालले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजार मध्ये पाँच हजार हत्याको जिम्मेवारी आफूले बताएका थिए ।