डेंगुको संक्रमण : उपत्यका सहित देशका ५२ जिल्लामा डेंगुको संक्रमण बढ्यो

काठमाडौं । बर्खा लाग्दानलाग्दै काठमाडौंमा डेंगुको संक्रमण बढेको छ । यस वर्ष जाडो महिनामा समेत संक्रमण शून्यमा नझरेको डेंगुले गत वर्षजस्तै प्रकोपको रूप लिने भय स्वास्थ्य क्षेत्रका अधिकारीहरुमा छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पाँच महिनायता ५२ जिल्लामा ५०१ जना डेंगु संक्रमित फेला परिसकेका छन् ।

जाडो मौसममा डेंगु शून्य नहुनुले समुदायमा लामखुट्टेले प्रशस्त मात्रामा अण्डा पारिरहेको विज्ञहरु बताउँछन् । संक्रमित लामखुट्टेले पार्ने अण्डा पनि संक्रमित नै हुन्छन् । त्यसको अण्डाबाट लार्भा, प्युपा हुँदै लामखुट्टे भएर सीधै डेंगु भाइरस सार्न सक्छ । लामखुट्टेले पारेको अण्डा पानी पर्ने समय नआएसम्म सुरक्षित रहने भएकाले १० महिनासम्म जम्मा भएर बसेको अण्डा पानी पर्ने बित्तिकै हुर्कन थाल्छन् ।

Taking action on air pollution at city level to build urban resilience

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार अघिल्लो बर्ष नै लामखुट्टेले समुदायमा प्रशस्त अण्डा पारेका छन् र समयमै प्रतिरक्षात्मक उपाय नसोच्ने हो भने प्रकोप धारण गर्न सक्छ । अघिल्लो वर्ष ७० जना हाराहारीमा मात्रै संक्रमित देखिएका थिए । यो वर्ष संक्रमण देखिनेमा काठमाडौंलगायत ५२ जिल्लाका ११२ पालिका छन् । त्यसमध्ये दार्चुलाले १७१ संक्रमितको रेकर्ड बनाएको छ ।

महाशाखाको तथ्यांक अनुसार सन् अघिल्लो वर्ष ५४ हजार ७८४ जनामा संक्रमण देखिएकोमा ८८ जनाको मृत्यु भयो । समुदायस्तरमा फैलिएको संक्रमणको गणना गर्ने हो भने गत वर्ष झन्डै दुई लाख जनसंख्या संक्रमित भएको विज्ञहरूको आंकलन छ ।

अघिल्लो वर्ष डेंगु महामारी नियन्त्रणमा सरकारी संयन्त्र पूरै असफल देखिएको थियो । काठमाडौं उपत्यकामा डेंगु संक्रमितको उपचारका लागि अस्पतालमा शय्या अभाव भयो । समयमै उपचार सेवा पाउन नसकेका कारण धेरैको मृत्यु भयो । कमजोरी नदोहोरियोस् भन्नका लागि अहिलेदेखि नै सरोकारवालासँग समन्वय र सहकार्य थालिएको सरोकारवाला बताउँछन् ।

डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । डेंगु भाइरसद्वारा संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ । यो लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्छ । विज्ञका अनुसार बिहान घाम उदाएपछि र बेलुका अस्ताउनुको करिब दुई घण्टा अघि समयमा लामखुट्टे बढी सक्रिय हुन्छ । दिउँसो काममा व्यस्त भएकाले त्यही बेलामा टोक्ने गर्छ ।

चिकित्सकका अनुसार १० हजार मानिसलाई डेंगु भयो भने १ हजारमा मात्र लक्षण देखा पर्छन् । बाँकी ९ हजार मानिसमा लामखुट्टेलाई संक्रमण प्रतिरक्षा गर्न सक्ने क्षमता हुन सक्छ । सुरुमा भाइरस छिरेपछि शरीरमा रोगसँग लड्ने क्षमता (एन्टिबडी) नबन्दासम्मको समयमा लामखुट्टेले टोकेमा शरीरको भाइरसले लामखुट्टेमा संक्रमण हुन्छ । एक पटक लामखुट्टे संक्रमित भएपछि उसका वंशजहरूमा समेत संक्रमण हुने गर्छ । खासमा डेंगुको कुनै उपचार नै छैन । चिकित्सकीय निगरानीमा रहँदा संक्रमणले हुने मृत्यु शून्यमा झार्न सकिने विज्ञको भनाई छ ।