अर्घाखाँची: राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अब वडा कार्यालयबाट

-सागर महत

सन्धिखर्क । अर्घाखाँचीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रत्येक वडामा परिचयपत्रको लागि विवरण दर्ता अभियान सञ्चालन गर्ने भएको छ ।

२ महिनासम्म सञ्चालन हुने अभियानमा ४० जना कर्मचारी खट्ने प्रमुख जिल्ला अधिकारी मिना अर्यालले बताउनुभयो । एउटा वडामा २ वटा स्टेसन हुने समेत उहाँले बताउनुभयो ।

विभागको आयोजनामा कर्मचारी मिलन केन्द्र सन्धिखर्कमा अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत भएको छ । कार्यक्रममा स्थानीय तहका प्रमुख एवं उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

यता तत्काल परिचयपत्र आवश्यक पर्नेहरुले भने प्रशासन कार्यालयमा आएर बनाउन सक्ने प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

योसँगै राष्ट्रिय परिचयपत्र बनाउन अति आवश्यक बाहेकले अब जिल्ला प्रशासन कार्यालय धाउनु नपर्ने भएको छ । यो अभियान सन्धिखर्क नगरपालिकाबाट सञ्चालन हुने समेत बताउनुभयो ।

जिल्लाका ६ वटा पालिकाकामा ६१ वटामा यो अभियान सञ्चालन हुने छ । अभियान सफल पार्नको लागि सबैको सहयोग आवश्यक पर्ने भएकाले सबै क्षेत्रबाट सहयोग गर्न जिल्ला समन्वय प्रमुख जिवनारायण कोइरालाले आग्रह गर्नुभयो ।

images