काठमाडौं । यही बैशाख ७ गते काठमाडौंको कपनस्थित सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई झापाबाट पक्राउ गरेको छ ।
प्रहरीले झापाको धुलाबारीबाट हत्यामा संलग्न रहेको आशंकामा विनोद विकलाई पक्राउ गरेको हो ।
सरस्वती नगरमा भाँडा पसल सञ्चालन गर्दै आएकी आचार्यको दिउँसै उनको पसलमै छुरा हानी हत्या गरिएको थियो ।
निकै रहस्यमय मानिएको सो घटनाको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोका अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको छ । सोही टोलीले विकलाई झापाबाट पक्राउ गरेको बुझिएको छ ।