काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित पक्राउ परेका अभियुक्तलाई प्रहरीले थप ३ दिन हिरासतमा राख्ने भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान सकेर बुधबारसम्ममा रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो । तर, अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले फेरि म्याद थप गर्न माग गरेको थियो । अदालतले आरोपीहरुलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
प्रहरीले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै रकम असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङ र मोरङका सागर राई पनि पक्राउ परेका थिए ।
उनीहरूकै बयानका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले अन्यलाई पनि पक्राउ गरेको हो।