दीपेन्द्र पौडेल, अर्घाखाँची डटकम
नेपाल सरकारका कृषि तथा पशुपक्षी मन्त्री बेदुराम भुसालले कृषि नै देशको अर्थतन्त्र सुधार हुने दावी गरेका छन । आज सन्धिखर्कमा गरिएको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन ।
मन्त्री भुसालले नेपालको अर्थतन्त्रको ठुलो मेरुदण्ड भनेको कृषि रहेको बताउँदै कृषिबाटै अर्थतन्त्र सुधार गर्न सकिने बताए । “नेपाल कृषि प्रधान देश हो, यहाँको अर्थतन्त्र कृषिमा निर्भर छ, अहिले कृषिमा धेरै समस्या छन्, त्यी समस्याको समाधान गर्न आवश्यक छ ।”उनले भने “नेपालमा कृषिका समस्याहरु मध्ये बाँझो जमिन, सिँचाई, बिउ मल हुन्, सरकार अहिले त्यी समस्याको समाधानका उपायहरु खोज्न लागिरहेको छ ।”
देश यतिबेला आर्थिक संकटबाट गुज्रिरहेको छ । सरकारले हरेक क्षेत्रका बजेटको कटौती गरिरहेको छ तर अन्य क्षेत्रको बजेटको तुलनामा कृषि क्षेत्रको बजेट कम कटौती गर्ने मन्त्री भुसालले जानकारी दिए ।
मन्त्री भुसालले नेपाल कृषी प्रधान देश भएपनि हालसम्म कृषि ऐन नहुनु दुःखद रहेको बताउँदै अहिले मन्त्रालय कृषि ऐन बनाउने कार्यमा लागिरहेको पनि उल्लेख गरे ।
अर्घाखाँचीबाट संघिय सरकारमा कृषि जस्तो महत्त्वपूर्ण मन्त्रालयमा मन्त्रीको जिम्मेवारीमा पुग्नुभएकोमा उत्कृष्ट कार्यकालको शुभकामना र बधाई ज्ञापन गर्दै पत्रकार महासंघ अर्घाखाँचीले दोस्ल्ला र सम्मानपत्रले सम्मान समेत गरेको छ ।
कार्यक्रम पत्रकार महासंघ जिल्ला अध्यक्ष अशोक खनालको अध्यक्षता,उपाध्यक्ष बिरेन्द्र के.सी.को स्वागत मन्तव्य र सह-सचीव हृदयकुमार भुसालको संचालनमा सम्पन्न भएको हो ।