थुनछेक बहस सुरु हुँदै : टोपबहादुर, बालकृष्णसहित अठारै अभियुक्तलाई लगियो अदालत

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनै अभियुक्तलाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ। आज थुनछेक बहस सुरु हुने भएकाले उनीहरुलाई अदालत उपस्थित गराइएको हो। सबैलाई जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा राखिएको छ। अब केही बेरमा थुनछेक बहस सुरु हुँदै छ।

 

1

थुनछेक बहसको इजलासमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वसांसद आङटावा शेर्पा, शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शमशेर मिया, नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, सानु भण्डारी, रामशरण केसी र गोविन्द चौधरीलाई उपस्थित गराइएको हो। उनीहरुसँगै इन्द्रजित राई, नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, टंक गुरुङ, केशव दुलाल, सागर राई, लक्ष्मी महर्जन र हरिभक्त महर्जन पनि अहिले इजलासमा छन्।

थुनछेक बहसपछि अहिले हिरासतमा रहेकाहरूलाई पुर्पपक्षका लागि जेल चलान गर्ने वा कारागार बाहिरै राखेर मुद्दा अघि बढाउने भन्ने विषयमा निर्णय हुनेछ।  पहिलो दिन आज अभियोग दायर गर्ने सरकारी वकिलले बहस गर्ने छन्।

सरकारी वकिलहरू महेश खत्री, जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, शेरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरेले बहस गर्ने सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्यूतमणि नेउपानेले जानकारी दिए।सरकारी वकिल र पीडितका तर्फबाट बहस सकिएपछि मात्रै प्रतिवादीको पालो आउनेछ।

उक्त प्रकरणमा प्रतिवादीको कूल संख्या ३० भए पनि १२ जना फरार छन्। प्रहरीले उनीहरूको खोजी गरिरहेको छ।

images