काठमाडौं । तराईमा गर्मी बढ्दै जाँदा मध्यनेपालमा पर्ने तराईको जिल्ला नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरले दिनदिनै तापक्रममा नयाँ ‘रकर्ड’ बनाउँदै आएको छ । यसअघिका वर्षमा नेपालगञ्ज, वीरगञ्ज, धनगढीलगायत सहरको तापक्रम देशकै सबैभन्दा बढी मापन गरिएको भए पनि यस वर्ष नवलपुरले उच्च तापक्रममा नयाँनयाँ ‘रेकर्ड’ बनाउँदै आएको छ ।
जल तथा मौसम विज्ञान विभागले हरेक २४ घण्टामा सार्वजनिक गर्ने देशको उच्च तापक्रममा नवलपुरको दुम्कौलीले दिनदिनै नयाँ रेकर्ड बनाउँदै आएको हो । विभागको हावापानी विज्ञान महाशाखाले वैशाख ६ गतेदेखि देशको तापक्रम सार्वजनिक गर्न सुरु गरेको थियो । सोही दिन नवलपुरको दुम्कौलीको तापक्रम देशकै सबैभन्दा बढी ४२ दशमलव आठ डिग्री सेल्सियस मापन गरिएको विवरणमा उल्लेख गरिएको छ ।
विभागले देशभरको अधिकतम तापक्रम सार्वजनिक गर्न सुरु गरेपछि बीचमा फाट्टफुट्ट केही जिल्लाको तापक्रम उच्च मापन गरिएको भए पनि धेरै समय नवलपुरले नयाँ नयाँ रेकर्ड बनाउँदै आएको छ । नवलपुरको दुम्कौलीमा वैशाख १० र ११ गते ३८ दशमलव आठ, १४ गते ३८, १५ गते ३८ दशमलव आठ, २४ गते ३९ दशमलव आठ, २५ गते ४१ दशमलव आठ, २७ गते ४२ दशमलव आठ, २८ र २९ गते ४१ दशमलव आठ, ३१ गते ४१ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । यो मापन गरिएको तापक्रम त्यस दिनमा देशकै सबैभन्दा उच्च तापक्रम हो ।
जेठ १ गते जिल्लामा ४१ डिग्री सेल्सियस रहेको तापक्रम जेठ २ मा घटेर ४० तथा जेठ १० मा अझ घटेर ३९ डिग्री सेल्सियस पुगेको भए पनि त्यस दिनमा यो तापक्रम देशकै उच्च तापक्रम भएको विभागले जनाएको छ । जेठ १० पछि उच्च तापक्रम भएका स्थानमा तराईका अन्य जिल्ला मापन गरिएको भए पनि जेठ १९ गते एकाएक नवलपुरको दुम्कौलीको तापक्रम ४३ डिग्री सेल्सियस मापन भयो ।
जेठ १९ पछि हालसम्म नवलपुरको अधिकतम तापक्रम देशका अन्य स्थानको भन्दा बढी मापन भइरहेको छ । जेठ २० गते ४३, २१ गते ४२ दशमलव आठ, २२ गते ४३ दशमलव आठ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । जेठ २२ गते नवलपुरमा त्यसबेलासम्मको सबैभन्दा बढी तापक्रम हुने आफ्नो जिल्लाको ‘रेकर्ड ब्रेक’ भएको थियो । त्यसअघि जिल्लाको अधिकतम तापक्रम सन् १९७९ मा ४३ दशमलव सात डिग्री सेल्सियस मापन गरिएको थियो ।
जेठ २३ मा तापक्रम घटेर ४२ दशमलव आठ डिग्री पुगेको भए पनि त्यस दिन यो तापक्रम देशकै उच्च तापक्रम मापन भएको विभागले जनाएको छ । जेठ २४ र २५ गते यहाँको तापक्रम ४३ दशमलव आठ डिग्री सेल्सियस पुगेको थियो । नवलपुरले उच्च तापक्रमको आफ्नो रेकर्ड पुनः ‘ब्रेक गर्दै’ जेठ २६ गते यहाँको तापक्रम ४४ डिग्री सेल्सियस पुग्यो । विभागले हरेक २४ घण्टामा देशभरको उच्च तापक्रम सार्वजनिक गर्दै आएको छ ।
नवलपुरको तापक्रम वृद्धि भएर तराईका अन्य जिल्लालाई माथ दिइरहँदा यहाँको जनजीवन प्रभावित भएको छ । अत्यधिक गर्मीका कारण खेतबारीमा लगाएका मकै सुक्न थालेका देवचुली–१७ का कृषक देवनारायण महतोले बताए । गर्मी अधिक भएपछि यस क्षेत्रमा दिउँसोको समयमा मानिस घरभित्रै बस्ने गरेका र घरायसी कामकाज बिहानबेलुकी गरेर गर्दै आएको महतोले बताए ।
आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा हल्का पानी पर्न सक्ने महाशाखाले जनाएको छ । ठूलो पानी नपर्दा र मनसुनी गतिविधि सुरु नहुँदा देशैभर गर्मी बढेको छ । हिमाली भेगमा समेत गर्मी बढ्दा जनजीवन कष्टकर बनेको छ ।
यसैगरी स्थानीय वायुको प्रभावका कारण देशको पूर्वी भेगमा मौसम बदली भएको छ । स्थानीय वायुको प्रभावको कारण मौसम बदली भएको र पूर्वको तापक्रम केही घट्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार मध्य र पश्चिम तराईमा भने अझै केही दिन गर्मी बढ्ने सम्भावना रहेको छ । पूर्वी क्षेत्रमा देखिएको बदली मध्य र पश्चिमसम्म पुग्दा गर्मी विस्तारै घट्दै जाने उनको भनाइ छ । तत्काल मनसुन भित्रिने सम्भावना नदेखिए पनि अब मनसुनी गतिबिधि बढ्न सक्ने उनले बताए ।
शुक्रबार देशका विभिन्न २२ ठाउँमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको छ । तराईका विभिन्न ठाउँमा केही दिनदेखि नै तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ । निरन्तर तापक्रम बढ्ने, घाम चर्कने हुँदा जनजीवन असहज बन्दै गएको छ । तातो हावाबाट बच्न घरभित्र अर्थात् चिसो ठाउँमा रहन, बाहिरी वातावरणमा बढी नजान, हल्का लुगा लगाउन, बाहिर निस्किँदा टाउको छोप्न, टोपी लगाउन, नियमित पानी तथा जुस, सर्वत प्रशस्त मात्रामा पिउन विज्ञले आग्रह गर्दै आएका छन् ।