समाजवादी मोर्चा घोषणा : समाजवादी मोर्चाको नेतृत्व आलोपालो गरिने, सचिवालय रहने, अलग्गै काम गर्न पार्टीहरु स्वतन्त्र

1

काठमाडौं- सोमबार घोषणा भएको समाजवादी मोर्चाको नेतृत्व सहभागी दलका शीर्ष नेताहरुले आलोपालो गर्ने भएका छन्।

सहमति पत्र वाचन गर्दै राजेन्द्र श्रेष्ठले भने, ‘मोर्चाको नेतृत्व शीर्ष नेताहरुले आलोपालो गर्नेछन्। यस मोर्चाको निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यता अनुरुप हुनेछ।’

मोर्चाका सदस्यहरुले साझा नीति नीति, कार्यक्रम र उद्देश्यका आधारमा काम कारबाही गर्ने सहमति पत्रमा उल्लेख छ।

मोर्चाको आफ्नै सचिवालय हुनेछ। ‘मोर्चाले तय गरेको नीति, योजना र कार्यक्रमहरुको कार्यान्वयन र अनुगमनका साथै दैनिक कार्य सञ्चालन गर्न एक सचिवालय हुनेछ। जसमा सदस्य दलहरुबाट तोकिए बमोजिम प्रतिनिधिहरु रहनेछन्’, श्रेष्ठले भने।

मोर्चाको उद्देश्य विपरीत दलहरुले आफ्नो गतिविधि नगर्ने सहमतिमा उल्लेख छ। ‘तर, आफ्नो अलग्लै कार्यक्रममा पार्टी नीति अनुरुप काम गर्न स्वतन्त्र हुनेछन्’, सहमति पत्रमा उल्लेख छ।

1

समाजवादी मोर्चाको १५ वटा उद्देश्य तथा नीतिगत प्रतिबद्धताहरु पनि सार्वजनिक गरिएको छ।

‘सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीयतहका सरकारहरू बीचको क्षेत्राधिकारलाई स्पष्ट पार्ने, देशको राजस्व तथा स्रोतसाधनहरू सन्तुलित र न्यायोचित रूपमा बाँडफाँट गर्ने र राज्यकातर्फबाट प्रदान गरिने सेवा सुविधाहरू जनतामा पुर्‍याउन प्रदेश तथा स्थानीयतहलाई सक्षम बनाउँदै सङ्घीय समाजवादी प्रणालीलाई समृद्ध गर्ने’, भनिएको छ।

सोमबार माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र नेकपाले समाजवादी मोर्चा घोषणा गरेका हुन्।