समाजवादी मोर्चा निर्माण प्रतिगामीका लागि युद्धको घोषणा हो : प्रधानमन्त्री दाहाल

1

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा राजनीतिक परिवर्तनका विरुद्ध लाग्नेहरुका निम्ति युद्धको घोषणा भएको बताए । सोमबार समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा(माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले मोर्चा घोषणा राजनीतिक परिवर्तनका विरुद्ध लाग्नेका लागि युद्धको घोषणा भएको बताएका हुन् ।

1

परिवर्तनलाई होच्याउने, अपमानित गर्ने अराजक र प्रतिगामी प्रवृत्तिका मान्छेहरुले टाउको उठाउन खोजेका भन्दै उनले समाजवादी मोर्चा तिनीहरु विरुद्धको युद्ध भएको बताए । मोर्चा जनताको पक्षमा, प्रगतिशील र वामपन्थीको पक्षमा भएको पनि उनले बताए । प्रधानमन्त्री दाहालले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान बनाउन भूमिका खेल्ने सबैलाई हातेमालो गर्न आग्रहसमेत गरे ।

उनले भने, ‘कोही पनि अग्रगमनको पक्ष, प्रगतिशील पक्ष, वामपन्थी पक्ष, संघीय गणतन्त्रका पक्षधर हामी यो मोर्चाबाट बिल्कुल घबराउनुपर्ने आवश्यकता छैन, बरु आउनुहोस् हात मिलाऊँ । र यो देशलाई नयाँ बनाउने संकल्पका साथ अगाडि बढौँ ।’

प्रधानमन्त्री दाहालले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व गरेका नेत्रविक्रम चन्द मोर्चामा सामेल हुनु गुणात्मक र क्रान्तिकारी महत्व भएको बताए । विप्लव समाजवादी मोर्चामा सामेल हुँदा संसदीय राजनीतिमा सामेल भएका आफूहरुमा लागेको धुलोमैलो सफा गर्न मद्दत पुग्ने उनको दाबी छ । उनले भने, ‘सायद कमरेड विप्लवजस्ता पार्टीहरु यहाँ मोर्चामा आउँदा हाम्रो धुलोमैलो सफा गर्न पनि मद्दत हुन्छ भन्ने मलाइ लाग्छ । त्यस अर्थमा आजको यो मोर्चा गठन र घोषणाको दूरगामी महत्व छ भन्ने म ठान्छु ।’

1

नेता, कार्यकर्ताहरुको उत्साहले समाजवादी मोर्चाको औचित्य स्थापित भइसकेको बताउँदै उनलेसमाजवादी मोर्चालाई अभियानको रूपमा लैजाने बताए । उनले आफूहरु सडकमा समेत जाने बताए ।