काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न बिक्री डिपोहरुमा ७१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य अब्दुल खानको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले २०७९ श्रावण महिनादेखि हालसम्म ३ लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सो मध्ये ७१ हजार मेट्रिक टन रासायनिक मल विभिन्न डिपोहरुमा मौज्दात रहेको बताउनुभयो । त्यस्तै, यही महिनाभित्र भारतको कलकत्ताबाट ४५ हजार मेट्रिक टन डिएपी मल ल्याइने पनि उहाँले जानकारी गराउनुभयो । प्रधानमन्त्री दाहालले यो वर्ष धान रोप्ने सिजनमा विगतको जस्तो मल अभाव नहुने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले मल वितरण प्रणालीलाई पारदर्शी बनाउन मल आपूर्ति र वितरणमा डिजिटल प्रणाली अपनाइएको बताउनुभयो ।