आमसञ्चार सम्बन्धि विधेयक छिटो संसदमा पेस हुन्छ : सञ्चारमन्त्री शर्मा

1

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आम सञ्चारसम्बन्धि विधेयक छिटोभन्दा छिटो संसदमा पेस गर्ने बताउनुभएको छ ।

सो विधेयकलाई संसदमा ल्याउनका लागि सरकारले विज्ञहरुसँग आवश्यक सुझाव लिएको र त्यसलाई संसदमा पेस गर्ने प्रक्रियाका लागि मन्त्रालयले काम गरिरहेको पनि बताउनुभयो ।

आइतबार प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै मन्त्री शर्माले सञ्चार र सूचना प्रविधिसँग सम्बन्धित धेरै ऐनहरु पुराना भएकाले त्यसलाई अध्यावधिक गरेर नयाँ कानून बनाउने काममा पनि सरकारले ढिलाई नगर्ने बताउनुभयो ।

मन्त्री शर्माले दूररसञ्चार सम्बन्धि फोरजी सेवाको देशभर विस्तार र फाइभजी सेवाको लन्च गरेर शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रहरुको पूर्वाधार विकासगरी मुलुकको राजस्व वृद्धिमा योगदान पुर्‍याउने योजनाका साथ काम भईरहेको दावी समेत गर्नुभयो ।

1

मन्त्री शर्माले सूचना र प्रविधिको क्षेत्रमा भएको तीव्र विकासलाई मध्यनजर गरेर ऐन, नियमहरु बनाउने काममा सरकारले विशेष ध्यान दिने पनि बताउनुभयो ।