विवेकशील साझाले सार्वजनिक गर्‍यो ,सुगौली सन्धीअघिको भू–भाग समेटेर ‘साँस्कृतिक मानचित्र’

काठमाडौँ– विवेकशील साझा पार्टीले सुगौल सन्धीअघिको भू–भाग समेटेर साँस्कृतिक मानचित्र सार्वजनिक गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय बखुण्डलोमा एक कार्यक्रमबीच विवेकशील साझाले साँस्कृतिक मानचित्र सार्वजनिक गरेको हो ।

1

नयाँ पुस्तालाई नेपालको गौरवमय इतिहास र धरातलीय यथार्थ बुझाउने हेतुले उक्त नक्सा जारी गरिएको पार्टीले बताएको छ । ‘अखण्ड, स्वायत्त एवं सार्वभौम नेपालको गौरवमय इतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावनालाई आत्मसात गराई धरातलीय यथार्थ बुझाउन विवेकशील साझा पार्टीले ऐतिहासिक नेपालको गौरवमय साँस्कृतिक मानचित्र सार्वजनिक गरेको हो,’ पार्टीले जारी गरेको विज्ञप्‍तिमा भनिएको छ ।

सुगौली सन्धी अगाडिको भू–भाग र वर्तमान भू–भागमा रहेका साँस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक धरोहरहरूलाई समेटेर निर्माण गरिएको मानचित्रमा सगरमाथादेखि बौद्ध स्तुपासम्म, पशुपतिनाथदेखि काँक्रेविहारसम्मका पुरातात्विक महत्वका सम्पदा समेटिएका छन् ।

1

हालै छिमेकी राष्ट्र भारतले आफ्नो नयाँ संसद् भवनमा कपिलवस्तु, लुम्बिनीलगायत नेपालका ऐतिहासिक भू–भागसमेत राखेर बनाइएको ’अखण्ड भारत’को नयाँ नक्साप्रति पार्टीले आपत्ति जनाएको छ । भारतको उक्त कदमलाई हेपाहा प्रवृत्तिको संज्ञा दिँदै पार्टीले भर्त्सना गरेको छ ।

उक्त नक्साको खण्डन गरेर नेपाल सरकारले औपचारिक कूटनीतिक नोट नपठाएकोमा पार्टीले विरोध गर्दै भनेको छ, ‘यसै सन्दर्भमा विवेकशील साझा पार्टीले सरकारले निर्वाह गर्नुपर्ने दायित्व स्मरण गराउँदै नेपालको साँस्कृतिक मानचित्र सार्वजनिक गरेको हो ।’

1

भारतद्वारा अतिक्रमित नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत अन्य क्षेत्र भारतले छोड्नुपर्ने माग विवेकशील साझाले गर्दै आएको छ ।

पार्टीले ऐक्यबद्धतास्वरूप उक्त मानचित्र संसद्, प्रशासनिक र सार्वजनिक कार्यालयमा राख्न सबैलाई अपील पनि गरेको छ ।