काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले सरकारको राजस्व संकलनको अवस्था डर लाग्दो रहेको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो बताउनुभएको हो । उहाँले असार १७ गतेसम्म ९ खर्बको हाराहारीरमा मात्रै राजस्व संकलन हुनु र सरकारको साधरण खर्च १० खर्ब भन्दा बढी हुनु गम्भिर स्थिति भएको दाबी गर्नुभयो ।
सांसद चौधरीले सरकारले नै मुलुकको अर्थतन्त्र चलायमान बनाउयन नसकेको स्वीकार गरेकाले अर्थतन्त्र चलायमान बनाउनेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताउनुभयो । उहाँले राष्ट्र बैंकले लगाएको आयात प्रतिबन्ध खोल्ने काम भएपनि आयात बढ्न नसक्दा समग्र अर्थतन्त्र चलायमान हुन नसकेको बताउनुभयो ।
सांसद चौधरीले अर्थतन्त्रमा देखिएका समस्या र चुनौतिका कारण देशभित्र लगानी बढ्न नसकेको उल्लेख गर्नुभयो । सांसद चौधरीले वर्तमान सरकार अर्थतन्त्र चलायमान बनाउने, लगानीमा वृद्धि गर्ने र कष्ट अफ डुईङ बिजनेश घटाउन विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
सांसद चौधरीले बैंकहरुसँग निक्षेप तथा कर्जाको रेसिया न्युनतम ९० प्रतिशत हुनुपर्नेमा अहिले ८३ प्रतिशतमा छरेको बताउनुभयो । उहाँले बैंकहरुमा पर्याप्त तरलता हुँदा पनि ऋण दिन नसक्नुको कारण सरकारले दिनुपर्ने बताउनुभयो । उहाँले बैंकहरुसँग ठूलो तरलता हुँदा पनि ब्याजदर घट्न सकेको भन्दै राष्ट्र बैंकको नीति स्पष्ट हुनुपर्ने बताउनुभयो ।