काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्ले सरकारले चालु आर्थिक वर्षको राजस्व संकलन गर्ने लक्ष्य आधारहीन देखिएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सांसद वाग्लेले यस्तो बताउनुभएको हो । उहाँले संशोधित बजेटमा समेत सरकारले ४० दिनको राजस्व संकलन प्रक्षेपन गर्न नसकेको आरोप लगाउनुभयो ।
सांसद वाग्लेले सरकारले असार १८ गतेसम्म राजस्व ८ खर्ब ६६ अर्ब मात्रै उठे पनि सरकारले ९ खर्ब उठेको भन्दै गलत तथ्याङ्क दिएको बताउनुभयो । उहाँले अर्थ मन्त्रालयले एक महिना अघि मात्रै बजेटमा ११ खर्ब ८० अर्ब उठाउँने घोषणा गरेको भन्दै अब आर्थिक वर्षको बाँकी १२ दिन केही चमत्कार नहुने बताउनुभयो ।
सांसद वाग्लेले नेपालको औसत राजस्व संकलन ३ अर्ब रहेको भन्दै अब घटाएको संशोधित अनुमानलाई हेर्दा दिनमा २६ अर्ब राजस्व उठाउनु पर्ने बाध्यता सरकारलाई रहेको बताउनुभयो ।
सांसद वाग्लेले असार १८ गतेसम्म सरकारको अनुदानमा पनि ४ अर्ब ८० करोड मात्रै उठेको बताउनुभयो । उहाँले सरकारको लक्ष्य ५५ अर्ब बाट एक महिना अघि मात्रै ३८ अर्ब उठ्ने भने पनि अब बढीमा ५ अर्ब उठ्नसक्ने दाबी गर्नुभयो । उहाँले सरकारको राजस्व र वैदेशिक अनुदानमा पनि एक महिना भित्र नै संशोधित अनुमान र वास्तविताबिचको खाडल विश्वनियतामा प्रश्न उठ्नु राम्रो नभएको बताउनुभयो ।