–गोपाल भट्टराई ,अर्घाखाँची डटकम
प्रधानमन्त्री प्रचण्डको पछिल्लो अभिव्यक्ति,संघियताको खारेजी,भ्रष्टाचार,सामाजिक हिंसाका विरुद्ध राष्ट्रिय जनमोर्चा निकटका युवाहरुले सन्धिखर्कबाट सिठी फुकेर बिरोध गरेका छन् । अखिल नेपाल युवक संघ अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा सिठी जुलुस निकालेर सरकारका गलत कदमको बिरोध गरिएको हो । सन्धिखर्क मसालबजारबाट सुरु भएको सिठी जुलुस चुत्राबेसी,हललाइन,सन्धिखर्कका विभिन्न चोक परिक्रमा गर्दै शान्ती बगैंचामा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी., नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल र युवक संघका केन्द्रिय सचीव ठाकुर पन्थीले सम्बोधन गर्नु भएको थियो । बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिले नेपालमा सरकार कसले बनाउँछ, भन्ने कुरा स्पष्ट पारेको उहाँहरुको भनाई छ । प्रचण्डले, आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह धेरै चोटी दिल्ली गएको कुरा सार्वजनिक गरे सँगै नेपालमा हुने सरकार गठन र विघटनमा भारतले खेल्ने भूमिका प्रष्ट पारेको उहाँहरुको जिकिर छ । व्यवस्था परिवर्तन भएपनि अवस्था नफेरिदा देश र जनताको हितमा काम हुन नसकेको उहाँहरुको आरोप छ ।
सरकारले उठाएका भ्रष्ट्राचारका फाइल गायब नगर्न सुझाव दिनु भएका नेताहकरुले दशमा टाँट पल्टिएको अर्थतन्त्रलाई लयमा ल्याउन संघियता खारेजीको विकल्प नभएको बताउनुभएको छ । अखिल नेपाल युवक संघका जिल्ला सचीव रेसम वि.क., सचीव पुरन नेपाली र अखिल छैठौंका जिल्ला अध्यक्ष जीवन नेपालीले सहजीकरण गर्नुभएको कोणसभामा राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर वि.सी.,राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष गोपाल पौडेल, सचीव बाबुराम पन्थी,कर्मचारीका प्रतिनिधि भुपाल पुन लगायतको उपस्थिति रहेको थियो ।