कांग्रेस केन्द्रीय समिति बैठक : आजदेखि सुरु हुँदै कांग्रेस केन्द्रीय समिति बैठक , विभिन्न १० एजेन्डामा छलफल हुने

1

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । बैठक ललितपुरस्थित केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बोलाइएको छ ।

गत असार २७ गतेदेखि सुरु हुने भनिएको बैठक प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनका कारण स्थगित गरिएको थियो । 

Congress Central Committee scheduled for July 18 | Ratopati | No.1 Nepali News Portal

आज सुरु हुने बैठकमा विभिन्न १० वटा एजेन्डामाथि छलफल हुनेछ । हिजो पार्टी सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेको हो ।

1

बैठकको पहिलो एजेन्डाको रुपमा समसामयिक विषय रहने र त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरूमा छलफल हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

त्यसैगरी साङ्गठनिक कार्ययोजना र कार्यतालिका प्रस्तुत हुने उनले जानकारी दिए । महामन्त्री शर्माका अनुसार कार्यसम्पादन समितिले गरेका निर्णयहरू अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेस र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रस्तावित हुनेछ ।

केन्द्रीय समिति बैठकमा विभाग गठनको प्रस्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेस गर्ने एजेन्डा पनि रहेका छन् ।

अरू एजेन्डाहरूमा पार्टीले प्रतिनिधिसभामा खेलेको भूमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरूको सम्बन्धमा बैठकलाई जानकारी गराउने कार्यतालिका बनाइएको छ ।

केन्द्रीय समिति बैठकको विभिन्न माध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने सम्बन्धमा पनि छलफल भइरहेको महामन्त्री शर्माले जानकारी दिए ।

यसअघि कांग्रेस केन्द्रीय समिति बैठक २०७९ साल असार २७ देखि साउन २ गतेसम्म बसेको थियो ।

यस्ता छन् कांग्रेसका १० एजेन्डा :

  •  समसामयिक विषयमा छलफल।
  • सांगठनिक कार्ययोजना र कार्यतालिका बनाइने।
  • केन्द्रीय सदस्य बैठक बस्दा कार्यसम्पादन समितिको निर्णय प्रस्ताव।
  • गोपालमान श्रेष्ठको संयोजकत्वमा रहेको निर्वाचन परिचालन समितिको प्रतिवेदन प्रस्तुत।
  • नीति अधिवेशनका विषयमा छलफल र खाका प्रस्ताव।
  • विभागहरू गठन, थप र कामको व्यख्या।
  • राष्ट्रव्यापी अभियानको घोषणा र खाका प्रस्तुत।
  • अनुशासन समितिको प्रतिवेदन पेश।
  • संसद्मा कांग्रेसको भूमिकाका विषयमा रमेश लेखकद्वारा प्रतिवेदन पेस।
  • सरकारको गतिविधिबारे आन्तरिक र बाह्य गतिविधिका बारेमा जानकारी।