स्वर्गीय सीता दाहालको स्मरणमा श्रद्धाञ्जली सभा : पत्नी वियोगको बेला सबैबाट पाएको साथले पीडाबाट निस्किन र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गर्यो – प्रधानमन्त्री दाहाल

 

1

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सीता दाहालको वियोगको शोकको बेला सबैबाट पाएको साथले पीडाबाट निस्किन र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरेको बताउनु भएको छ ।

आज मंगलबार दाहाल पत्नी स्वर्गीय सीता दाहालको स्मरणमा प्रधानामन्त्री निवास बालुवाटारमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो – ‘पछिल्ला वर्षहरुमा हामीले एक छोरी र छोरासहित दुई सन्तानको असामयिक र अकल्पनीय मृत्यु ब्यहोर्याै । शरिरले साथ दिएसम्म यो पीडामा उनी पनि दृढतापूर्वक उभिइ नै रहिन् । र त्यो पीडाको सामना गरिरहिन् । उनी बिरामी भएपछि राज्यबाट कुनै सुविधा नलिइकनै हामीले उपलब्ध र लाभदायी हुनसक्ने सबैखाले पद्धतीबाट उपचारको प्रयास पनि गरि नै रह्यौँ ।

म आज उनको उपचारमा संलग्न चिकित्साकर्मी लगायत सबैलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्न चाहन्छु । अस्पतालदेखि पार्टी कार्यालयसम्म, आर्यघाटदेखि बालुवाटारसम्म उनले पाएको सम्मान र श्रद्धाञ्जली उनको त्याग, तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान हो भन्ने हामीले ठानेका छौँ । उनको मृत्युमा प्रकट भएको जनअभिव्यक्ति र जनउभारले मलाई र मेरो परिवारलाई देश र जनताप्रति अझ ठूलो जिम्मेवारीबोध गराएको छ ।’

1

सीताको गत असार २७ गते स्वर्गारोहण भएको थियो । श्रद्धाञ्जली सभामा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्ययाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु, सांसदहरु, राजदुत तथा कुटनीतिक नियोगका प्रतिनिधिहरु लगायत शुभेच्छुक तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।